नेपालगन्जमा मेरुदण्ड रोग कार्यशाला

नेपालगन्जमा एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले शनिवार मेरुदण्ड रोग सम्बन्धी कार्यशाला आयोजना गरेको छ ।

मेरुदण्ड रोग सम्बन्धी कार्यशालामा देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आयोजक एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका लुम्बिनी प्रदेश संयोजक डा.प्रकाश बहादुर थापाले सम्मेलनमा मेरुदण्डको चोट,चोटपटकको उपचार लगायत स्पाइनका विभिन्न समस्यामा केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु गरिएको बताए ।

उनले कार्यशालाको उद्देश्य खासगरी उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान साथै राजधानी बाहिर पनि मेरुदण्ड रोगको उपचारका लागि पर्याप्त सेवा सुविधा होस् भन्ने हेतुले चिकित्सकहरूलाई तालिम दिएर समस्यालाई एड्रेस गर्ने रहेको बताए । स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा समेत कार्यशालामा छलफल गरिएको थियो ।

आयोजकका अनुसार, कार्यशालामा मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे छलफल गरिएको आयोजकले जानकारी दिएको छ । कार्यशालामा दर्जन बढी चिकित्सकहरुले आफुले गरेका विभिन्न घटनाहरुको प्रस्तुतिकरण साथै विभिन्न विषयमा छलफल पनि गरिएको थियो ।

कार्यशालामा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.विमलकुमार पाण्डे, महासचिव डा. सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा. गौरव राज ढकाल लगायत देशभरबाट ६० बढी चिकित्सकहरूले सहभागिता जनाएका थिए । त्यसका लागि नेपाल अर्थोपेडिक एसोसियसन वेष्टर्न च्याप्टरले सहकार्य गरेको थियो ।

Exit mobile version