नेपालगन्ज विमानस्थललाई विपक्षी बनाएको मुद्धामा कारण देखाउ आदेश

नेपालगन्ज विमानस्थलभित्र गरिनु पर्ने सुधारका विषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानुन व्यवसायी र अधिकारकर्मीद्वारा दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासबाट विपक्षी नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाइन्स कम्पनीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
साथै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा सार्वजनिक सरोकारको विषय भएकोले विषयवस्तुको गाम्भीर्यताको आधारमा विपक्षीहरुलाई झिकाइ छलफलमा भाग लिनका लागि २०८० चैत १४ गतेका लागि सुनुवाइको पेशी तारेख तोक्ने आदेश भएको छ ।
मुद्धामा विमानस्थलभित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यवस्तुको गुणस्तर, विमानस्थलमा सामान ओसार्ने ट्रलीको कमी, हवाइजहाजले यात्रुलाई दिने सेवा सुविधा गरेको कटौतीलगायतका विषय समेटिएका छन् । मुद्धामा रिट निवेदक अधिवक्ताहरुका साथै अधिवक्ताहरु केवल सिंह थारु, सुनिलराज शर्मा, हिरा श्रेष्ठलगायतले बहस गरेका थिए ।
विमानस्थलभित्रका सार्वजनिक सरोकारका विषयमा वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठ कानुन व्यवसायी अधिवक्ता लोकबहादुर शाह, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, अधिवक्ता विकास आचार्य, बलबहादुर चन्द, विश्वजित तिवारी, सुनिता शर्मा र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महतलगायतले संयुक्तरुपमा दायर गरेको रिटमा दायर गरेका थिए ।

Exit mobile version