आजको मौसम कस्तो छ ?

देशका केही भू–भागमा आज वर्षाको सम्भाना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू–भागमा वर्षा हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो मधेस र कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । “काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना छैन । दिउँसो २ बजेपछि बदली हुनेछ,” मौसमविद् मीनकुमार अर्यालले भने, “तर वर्षाको सम्भावना भने छैन ।”

विभागले राति कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । “आज राति भने काठमाडौंमा वर्षाको सम्भावना छ । राति काठमाडौंमा वर्षा हुनेछ,” मौसमविद् अर्यालले भने, “भोलि पनि काठमाडौंमा वर्षा हुनेछ ।”

भोलि दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको अर्यालले जानकारी दिए ।

Exit mobile version