एमाले लुम्बिनीले लियो पार्टी सदस्यहरूको परीक्षा

सदस्यहरूलाई पार्टीको जीवन तथा नीतिगत विषयमा जानकारी दिलाउने उद्देश्यले नेकपा एमाले लुम्बिनीले सदस्यहरूको परीक्षा लिएको छ । एमाले लुम्बिनीले प्रदेशका ८६ हजार बढी सदस्यहरूको परीक्षा लिएको हो ।

प्रदेशका १२ वटै जिल्लाका १०९ वटा पालिकाका ८६ हजार २ सय ६० जना सबै सदस्यहरूको सोमबार एकैपटक परीक्षा लिइएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए । सदस्यता लिएर पनि पार्टीका गतिविधिमा सहभागी नहुने निष्क्रिय सदस्यहरूलाई क्रियाशील बनाउन पहिलो पटक यस प्रकारको कार्यक्रम थालिएको अध्यक्ष कँडेलले बताए ।

सोमबार लिइएको आन्तरिक परीक्षामा पार्टी सदस्यहरूको उत्साहपूर्वक सहभागिता भएको कँडेलले बताए । सम्बन्धित जिल्ला कमिटीको संयोजनमा लिइएको परीक्षाका लागि वडा कमिटीका कार्यालयहरूलाई परीक्षा केन्द्र तोकिएको थियो । प्रदेश अध्यक्ष कँडेलका अनुसार परीक्षामा नेकपा एमालेसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो ।

एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीका निष्क्रिय सदस्यलाई क्रियाशील र जबाफदेही बनाउन लुम्बिनी प्रदेशबाट पहिलो पटक यस प्रकारको कार्यक्रम सुरू गरिएको बताइन् । सदस्यहरूले परीक्षामा लेखेको उत्तरको आधारमा क्षमता मापन गरी उनीहरूलाई जिम्मेवारी दिन सहज हुने उनले बताइन् ।

प्रदेश इन्चार्ज अर्यालले पहिलो पटकको परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई स्कुल विभागमार्फत् प्रशिक्षण दिइने जानकारी दिइन् । प्रदेशका सबै पालिकामा परीक्षा सञ्चालन गरिएको भए पनि केही वडामा रोकिएकाले सोमबारको परीक्षामा कति सहभागी भए भन्ने तथ्यांक आइनसकेको अध्यक्ष कँडेलले बताए ।

Exit mobile version