मानसिक स्वास्थ्य मस्यौदाका लागि समिति

लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना मस्यौदाका लागि निर्देशक समिति गठन गरेको छ ।

पछिल्लो समयमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गए पछि सोको न्यूनीकरण र प्रभावकारी कार्यक्रम बनाउनका निम्ती नीतिगत संवोधन गर्न पनि मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘१५ दिन भित्र उक्त निर्देशक समितिको कार्यविवरण गरी अबिलम्व रणनैतिक कार्ययोजना बनाउनुपर्ने हुन्छ,’ लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिव, डा. जनार्दन पन्थीले भने, ‘थप जटिल अवस्था तयार नहुँदै मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ प्रभावकारी कार्यक्रम बनाउन जरुरी छ । अब हल्ला भन्दा पनि काम गरेर देखाउ ।’

सचिव डा. जनार्दन पन्थीको संयोजकत्वमा गठित निर्देशक समितिमा कानुन हेर्ने तालुक मन्त्रालय, स्वास्थ्य निर्देशानालय, प्रार्देशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा, विश्व स्वास्थ्य संगठन र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) बाट प्रतिनिधि रहने गरी गठन भएको छ । जसको सदस्य सचिवमा नीति, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख नोद नारायण चौधरी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०७१ जारी भए पनि प्रदेश स्तरमा अहिले सम्म कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले मात्र प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना निर्माण गरी लागु गरेको छ ।

‘अब स्वास्थ्य मात्रै नभई हरेक मन्त्रालय र कार्यक्रमहरूले मानसिक स्वास्थ्यलाई क्रसकटिङ रूपमा प्राथमिकता दिएर कार्यक्रम तयार गरी यसलाई उच्च प्राथमिकताका साथ काम गर्नुपर्दछ, अन्यथा मानसिक स्वास्थ्य समस्या र आत्महत्याले थप जटिल बन्ने निश्चित प्रायः हो,’ मानसिक स्वास्थ्य नीति निर्माण सोको कार्यन्वयनका निम्ती वकलत गर्दै आएका सी.एम.सी–नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले बताए ।

नेपालमा विगत १२ वर्षमा ६४ हजार ९ सय ५ मानिसहरूले आत्महत्याबाट ज्यान गुमाइसकेका छन् भने गत आर्थिक वर्षमा मात्रै ६ हजार ९ सय ९३ ले आत्महत्याकै कारण ज्यान गुमाएको नेपाल प्रहरीको तथ्याङ्क छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार आ.व २०७९÷८० मा १ हजार ३ सय ९ जनाले आत्महत्याका कारण मृत्युवरण गरेका छन् जसमा ५ सय ५९ महिला र ७ सय ५० पुरुष रहेको प्रहरीको तथ्याङ्क छ ।

Exit mobile version