देशमा आजः ८ बजे ८ खबर

  1. राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
  2. नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो ।
  3. कच्चा पदार्थको अभावमा कैलालीमा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।
  4. विश्वका खुसी देशहरूको सूचीमा नेपाल ९३ औँ स्थानमा परेको छ । संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले एक सय ४३ वटा देशलाई समेटेर सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’ प्रतिवेदनअनुसार नेपाल ९३ औँ स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल यो सूचीको ८४ औँ स्थानमा थियो । खुसीको स्तर खस्किँदै ९३ औँ स्थानमा परे पनि नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश बनेको छ ।
  5. जिल्लाका चारवटा स्थानीय तहमध्ये तीनवटा गाउँपालिकामा अस्पताल छैनन् । सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा अस्पताल छैन । छायाँनाथ रारा नगरपालिकामा एक मात्र १५ शैया क्षमताको अस्पताल छ । प्राथमिक अस्पतालसमेत नहुँदा स्थानीयबासीहरुलाई साधारण स्वास्थ्योपचारका लागि समेत सदरमुकाम वा जिल्लाबाहिर जानुपर्ने बाध्यता छ ।
  6. कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ मा झन्डै २१ करोड रुपैयाँको लागतमा ‘स्टे होटेल भ्याली भ्यु’ सञ्चालनमा आएको छ । दैलेख सडकखण्ड अन्तर्गत पर्ने लादेमा तीन तारे स्तरको होटेल सञ्चालनमा आएको हो ।
  7. पिथौरागढमा सम्पन्न नेपाल-भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए । बैठकमा  भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ । 
  8. र, नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निणर्य गरेको महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए ।
Exit mobile version