किन विकास भएन वडा नम्बर २० मा ?

नेपालगन्जका ग्रामीण क्षेत्रमा विकास

नेपालगन्ज उपमहानगर–पालिकाको वडा नम्बर २० थपुवा गाउँको छेउमै छ राँझा विमानस्थल । तर, उक्त गाउँ पुग्ने बाटो अहिलेपनि कच्ची छ । वर्षामा त उक्त बाटोबाट यात्रा गर्नै कठिन हुन्छ । वडा नम्बर २० का थपुवा, फारमपुर र नयाँवस्ती जस्ता टोलसम्म पुग्नका लागि बाटोको स्तरोन्नति समेत स्थानीय सरकारका ७ वर्षमा भएन ।

स्थानीयहरू कागजमा उपमहानगरपालिकाका बासिन्दा भएपनि व्यवहारमा त्यो महसुस गर्न नपाएको बताउँछन् । यस गाउँले अहिलेसम्म लालपुर्जा पनि पाएको छैन । फारमपुरका वीरबहादुर थापाले भने, ‘खै त अहिलेसम्म खाल्डाहरू पनि पुरिएन । बाटो पनि बनेन । लालपुर्जा बनाउँछौँ भने । केही पनि भएन ।’ स्थानीयवासीहरू भन्छन्, ‘बाटो राम्रो छैन । रिक्साहरू पनि यहाँ आउन मान्दैनन् । वर्षाको समयमा यात्रा गर्नै सकिँदैन ।’

पहिलेको मनिकापुर गाविसलाई नेपालगन्ज उपमहानगरपालिकामा गाभेर अलग्गै वडा बनाइएपछि यो गाउँले पनि विकासमा फड्को मार्ने आशा गरिएको थियो । तर त्यसो भएन । दुग्ध उत्पादनमा उल्लेखनीय काम गरिरहेका यहाँका किसानहरू वर्षामा उत्पादन बजारसम्म पुर्याउन पनि कठिन हुने गरेको बताउँछन् ।

स्थानीय भैंसीपालक किसान नमराज शर्मा भन्छन्, ‘कृषकहरूले गरेका उत्पादनहरू सहजरूपमा बजारसम्म लैजान सकिँदैन । किसानको गोठसम्म स्थानीय तहका प्राविधिकहरू आउँदैनन् ।’

नेपालगन्जको कृषकहरू बढी भएको वडामध्ये एक यस वडाका किसानहरू स्थानीय सरकारले कृषिलाई टेवा पुर्याउनेगरी काम नगरेको गुनासो गर्छन् । स्थानीय किसान मोहन यादव भन्छन्, ‘मल यहाँ पाइँदैन । भारत गएर ल्याउँदा प्रहरीले जफत गर्छ ।’ उनले सिंचाईका लागि वडाले मोटरहरू वितरण गर्दा पनि पक्षपात गरिएको आरोप लगाए ।

यस वडाका ज्येष्ठ नागरिकहरूले भत्ता प्राप्त गर्नका लागि पनि वडाले सहज व्यवस्था नगरिदिएको दुःखेसो गरे । सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयसम्म पुग्दा दुई सय रूपैयाँ भाडा तिर्नुपर्ने गरेको उनीहरूले बताए ।

यस वडामा स्थानीय सरकारको ७ वर्षमा नाम मात्रको विकास भएको वडावासीहरूको भनाइ छ । सडक बनेको ठाउँमा नाली बनेको छैन । अनि बनेको सडक एक वर्ष नपुग्दै भत्किएको छ । नेपालगन्ज सुर्खेतरोडदेखि वडा नम्बर २० को कार्यालयसम्म पुग्न निर्माण गरिएको बाटो एक वर्ष नपुग्दै भत्किएको छ । वडाध्यक्ष कौशल धोबी उक्त बाटो गुणस्तरीय नबनाइएको अनुगमन प्रतिवेदन तयार गरेर उपमहानगरपालिकामा बुझाइएको बताउँछन् । यहाँका कतिपय बस्तीमा अझै खुलारूपमा शौच गर्ने गरिएको छ ।

वडा नम्बर २० गाउँहरूको वडा हो । यहाँ करिब तीन दर्जनबढी टोलहरू छन् । ती टोलहरूमा समानरूपले विकास पुर्याउनु कठिन रहेको वडाध्यक्ष कौशल धोवी बताउँछन् । ‘मैले यो वडालाई गाउँपालिकाको रूपमा लिने गरेको छु’, धोबी भन्छन् । करिब ३५ हजार जनसंख्या भएको यो वडा उपमहानगरपालिकाकै ठूलो वडा हो । वडाध्यक्ष धोबी भन्छन्, ‘यहाँ विकास गरेको देखिँदै देखिँदैन । उपमहानगरपालिकाको पाँच वर्षको बजेट लगाउँदा पनि विकास सम्भव छैन ।’

धोबीले उपमहानगरपालिकाले बजेट तय गर्दा पछि परेका वडा र विकास भैसकेका वडालाई एकै नजरले हेर्न नहुने बताए । आफूहरूले विकासको अवस्थका आधारमा बजेट दिनुपर्ने माग कार्यपालिकामा उठाउँदै आएको उनले दाबी गरे ।

Exit mobile version