हिन्दु राष्ट्र बार्षिक सम्मेलनमा प्रस्ताव गर्दै काँग्रेस

नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्विकृत गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा विहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पूर्व सभापति हमालले पार्टीभित्र उठाएको सनातन हिन्दु राष्ट्रको मागलाई जिल्लाको बार्षिक सम्मेलनमा प्रस्तावका रूपमा लैजाने निर्णय पनि गरेको कार्यवाहक सभापति अधिकारीले जानकारी दिए ।

त्यस्तै, नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ ।

बैठकले विधानतः सबै तहले गर्नुपर्ने बार्षिक सम्मेलन (वडादेखि क्षेत्र) बैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लामा कार्यक्रमहरू गरिँदा संस्थापक नेताहरूको फोटो मात्र राख्ने गरिएकोमा अबदेखि संविधान पिता सुशिल कोइरालाको पनि फोटो राख्ने निर्णय गरेको कार्यवाहक सभापति अधिकारीले बताए ।

Exit mobile version