कलिला हातले कोरे सचेतनाका सुन्दर तस्विर

बालबालिकालाई कुनै न कुनै रूपमा सचेतना कार्यक्रमले उनीहरूको क्षमता अभिवृद्धि हुनुका साथै असल नागरिक बनाउने मद्दत पुग्छ । साना बालबालिकालाई अध्ययन बाहेक अन्य अतिरिक्त क्रियाकलापको माध्यमबाट उनीहरूलाई चनाखो बनाउनुका साथै असल तथा खराब कार्य के हुन् भन्ने बोध गराउन सहज हुन्छ ।

शुक्रबार नेपालगन्जमा बालबालिकाहरूले सचेतनामूलक चित्रकला प्रस्तुत गरेका छन् । ५ कक्षा देखि १२ कक्षासम्मका २० जना विद्यार्थीहरूले सचेतनामूलक चित्रकला बनाएका हुन् ।

पिछडिएको समुदायका महिला तथा बालबालिकाको उत्थानका लागि क्रियाशिल संस्था फातिमा फाउण्डेशनले बालबालिकाहरूलाई सचेतनामूलक चित्रकलाको अवसर जुराएको हो । ब्रिटिश काउन्सिलको आर्थिक सहयोगमा बाँकेको ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरूले विभिन्न क्षेत्रको संकेत गर्ने सचेतनामूलक चित्र बनाएका हुन् ।

१० देखि १८ बर्षसम्मका विद्यार्थी तथा युवा क्लब आबद्ध बालबालिकाह रुले चित्र रुचिपूर्वक कोरेको पाइन्थ्यो ।

बाँकेको बन्जारे गाउँ, इन्द्रगाउँ र जमुनाहका बालबालिका सहभागी चित्रकलामा लैंगिक समानता, बाल विवाह, घरेलु हिंसा सम्बन्धी विधामा चित्र कोर्न लगाइएको सीमान्तकृत समुदायका महिलाहरूको सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक कैकसा अन्सारीले जानकारी दिइन् । विद्यार्थीहरूले कोरोको चित्र आगामी चैत्र २० गते नेपालगन्जमा प्रदर्शनी गर्ने उनले बताइन् । ‘प्रतिस्पर्धात्मक नभई सचेतनामूलक चित्रकलाका लागि बालबालिकालाई सहभागी गराएका हौं’, उनले भनिन्, ‘त्यसका लागि यसअघि बालबालिकालाई ओरेन्टेशन समेत सञ्चालन गरेका थियौं ।’

Exit mobile version