इ–रिक्सा व्यवस्थापनमा कठोर बन्दै उपमहानगरपालिका

नेपालगन्ज उपमहानगर–पालिका इ–रिक्सा व्यवस्थापनमा कठोर बन्दै गएको छ । नियन्त्रणमा लिइएका इ–रिक्सा कागजात सहित फिर्ता लिन तथा दर्ता प्रक्रियामा जान आव्हान गर्दा समेत बेवास्ता गरिएपछि उपमहानगरपालिकाले व्यवस्थापनमा कठोर हुँदै गएको हो ।
नेपालगन्जमा विना दर्ताका इ–रिक्सा यसअघि नै नियन्त्रणमा लिइएको थियो । पमहानगरपालिकाले इ–रिक्सा दर्ताका लागि समय दिंदै कागजात सहित फिर्ता लग्न आव्हान समेत
गर्यो । तर, अवैध रूपमा रहेका इ–रिक्सा फिर्ताको दाबी नगरेपछि त्यस्ता इ–रिक्सा उपमहानगरपालिकाले नष्ट गरेको हो । बिना दर्ता, बिना कागजात सञ्चालन भएका इ–रिक्सा फिर्ता नभएपनि नेपालमा खरिद गरी सञ्चालनमा रहेका इ–रिक्सा धनीले भने कागजात बुझाएर इ–रिक्सा फिर्ता लिएका थिए । कतिपय इ–रिक्सा नियन्त्रणमा लिइएपछि उपमहानगरपालिकामा दर्ता गरेर फिर्ता समेत लिइएको छ ।
लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ–रिक्सा मंगलबार नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार डोजरको प्रयोग गरी पहिलो चरणमा ५ वटा इ–रिक्सा नष्ट गरेको हो ।
आवश्यक कागजात नभएका ती इ–रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको इ–रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले इ–रिक्सा धनी÷चालककै अगाडि कागजात अद्यावधिक भए÷नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गरेका थिए ।
नेपालगन्ज उपमहानगर–पालिकाले इ–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो ।
नेपालगन्ज उपमहानगर–पालिकाले हालसम्म ६२३ इ–रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५३८ इ–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ–रिक्सा नियन्त्रणमै छन् । ती इ–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए ।
इ–रिक्सा नष्ट गरिएको समाचार सार्वजनिक भए लगत्तै लिलामी गरेर त्यसबार राजश्व आम्दानी हुनसक्ने भएपछि नष्ट गरिएको भन्दै आलोचना समेत भएको छ ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले सडकमा गुड्न अनुमति नै प्राप्त हुन सक्ने इ–रिक्सा नष्ट गरिएको बताएका छन् । ‘कानुनी रूपमा कुनै पनि प्रक्रियाबाट वैधानिकता प्राप्त हुन नसक्ने इ–रिक्साहरू चेतावनी स्वरूप नष्ट गरिएको हो’, नगर प्रमुख प्रशान्त विष्टले भने ।
‘यसअघि नियन्त्रणमा लिइएका इ–रिक्सा कागजात बुझाएर लग्न भनिएको हो, तर कागजात नै नभएका अवैध इ–रिक्सा फिर्ता लगिएको छैन ।’ उनले इ–रिक्सा नष्ट गर्नु अघि त्यसको ब्याष्ट्रि सम्बन्धितलाई नै फिर्ता दिएको बताए । ‘अवैध इ–रिक्सा फिर्ता दिंदा पुनः बजारमा चल्ने जोखिम थियो, त्यसलाई वैधानिक बनाउन सक्ने उपाय नै थिएन, त्यसैले नष्ट गर्नुपर्यो’, उनले भने ।
नगर प्रमुख विष्टले २ हजार यस्ता अवैध इरिक्सा कडाई पछि अण्डरग्राउण्ड भैसकेको बताए । ‘कानुन विपरित इ–रिक्सा अब सडकमा चल्न दिइने छैन’, नगर प्रमुख विष्टले भने ।
नगर प्रमुख विष्टले नगरमा अवैध इ–रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगन्ज उपमहानगरपालिका दृढ भएर लागेको बताए । ‘हामीले पटक–पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै इ–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध इ–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं’, नगर प्रमुख विष्टले भने, ‘अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।’

Exit mobile version