भारतको नैनीतालमा ६ नेपालीको मृत्यु

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी ६ जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।

बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्घटनामा मृतक मध्ये पाँच जना बाँकेको रहेको सूचना सार्वजनिक गरेको छ । मृतक उदयराम, तिलक, अन्तराम, विनोद र धिरज बाँके फत्तेपुरका हुन् । त्यसबाहेक तोक बहादुर बर्दिया र रमेश भारतीय नागरिक हुन् ।

घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए ।

“काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उनले भने, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले जानकारी दिए ।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ’स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब–इन्सपेक्टर अन्सारीले बताए ।

Exit mobile version