सिने रोयललाई अवार्ड

नेपालगन्ज स्थित सिने रोयलले सर्वश्रेष्ठ सिनेमा हलका रूपमा अवार्ड पाएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपले राजधानी काठमाडौंमा आयोजना गरेको भव्य समारोह बीच सिने रोयललाई मोफसलकै ‘सर्वश्रेष्ठ सिनेमा हल’ अवार्ड प्रदान गरेको हो ।

‘ब्लक बस्टर नेपाली फिल्म अवार्ड–२०८० को १८औं संस्करणमा सिने रोयललाई उक्त अवार्ड प्रदान गरिएको शुक्रबार पत्रकारहरू बीच जानकारी दिइएको हो । ‘यो हाम्रा लागि मात्रै होइन, नेपालगन्जकै लागि उत्साहजनक खबर हो’, सिने रोयलका प्रबन्ध निर्देशक डा. राहुल थापाले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई बाँकेबासीले अपनत्व र स्वामित्व लिन सक्नु पर्छ ।’ सिने रोयल व्यवस्थापनले शुक्रबार पत्रकारहरू बीच अवार्डको खुशी साटासाट गर्दै देशका ७७ वटै जिल्लामा पुग्नैपर्ने १ हजार पर्यटकीय गन्तव्य सम्बन्धी विशेषांकमा समेत अन्नपूर्ण पोष्टले सिने रोयललाई समेटेको सुनाए ।

वेष्टर्न आइएनसी प्रा.लि.ले गत बर्ष साउन ११ गते सिने रोयलको औपचारिक शुभारम्भ गरेको थियो ।

नेपालगन्ज–१० सुर्खेत रोडमा अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व अनुभव प्रदान गरिरहेको छ । तीनवटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिका बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ एक उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरि सिनेमा हल बनाइएको छ । नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । नेपालकै लागि सिनेमा क्षेत्रमा गौरवको प्रोजेक्ट भएको यसले भारतीय सिनेमा प्रेमीलाई पनि आकर्षित गरेर यस क्षेत्रको आर्थिक गतिबिधि बढावा दिने पनि सफल भएको सञ्चालक डा.थापाको दाबी छ ।

Exit mobile version