होटल व्यवसायी भन्छन्, ‘घरभाडा घटाउ’

व्यवसाय चल्नै नसकेपछि नेपालगन्जका होटल व्यवसायीले तत्काल घरभाडा घटाउन माग गरेका छन् ।

पर्यटकको चहलपहल भइरहँदा आर्थिक गतिविधिमा आएको कमीले व्यवसाय चल्न छाढेपछि होटल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेका हुन् । ‘व्यवसायीलाई तत्काल पलायन हुनबाट जोगाउन घरभाडा घटाउने उपाय देखिएको छ,’ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष रंग बहादुर खड्काले भने ।

व्यवसायीहरुका अनुसार, आर्थिक कारोबारमा आएको कमीले धेरै होटेल व्यवसायी पलायन भइसकेका छन् । ‘अझै पलायन हुने अवस्था छ,’ अध्यक्ष खड्का भन्छन्, ‘अहिले लगानी गर्ने वातावरण पनि छैन ।’

होटल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था नभएपछि होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशले सबैलाई घरभाडा घटाउने पहल लिन जिल्लास्थित संघहरुलाई पत्राचार गरेको जनाएको छ । ‘सबै जिल्लाबाट त्यसखालको गुनासो आएपछि पहल लिन जिल्लाहरुलाई पत्राचार गरेका छौं,’ महासंघका प्रदेश अध्यक्ष भास्कर काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘रुपन्देहीमा व्यवसायीहरु आन्दोलितनै भएर आफ्ना मागमा सुनुवाई गर्न सफल हुनुभएको छ ।’ होटल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको अवस्था रहेकाले आन्दोलिन हुनु बाध्यात्मक रहेको काफ्लेको भनाइ छ ।

‘यस्तै अवस्था लम्बिदै गयो भने, व्यवसायी पलायन हुने अवस्था बढ्दै जाने निश्चित छ,’ महासंघका प्रदेश अध्यक्ष काफ्लेले होटल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने आफ्नो माग सरकार समक्ष राखिएको जानकारी दिंदै भने, ‘होटल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो ।’

होटल व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराइरहेपनि पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने होटल व्यवसायीको भूमिकालाई सरकारले वास्तै नगरेको महासंघका केन्द्रीय सदस्य भिमलाल कंडेलको भनाइ छ । यसअघि आफुहरुले गरेको अनुरोध सुनुवाइ गर्दै नेपालगन्जका कतिपय घरधनीले कोभिडका बेला दिएको राहत सम्झँदै संघका निवर्तमान अध्यक्ष समेत रहेका कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘सबै बाँचौं र बचाउँ भन्ने अवस्थामा हामी छौं ।’

‘आन्दोलन गरेरै सुनुवाई गर्ने सरकारी रवैयामा सुधार आउनुपर्छ,’ स्थानीय सरकारले राहत दिनुको साटो झनै कर थोपरेर समस्या दिने गरेको गुनासो गर्दै होटल व्यवसायी संघ बाँके नेपालगन्जका प्रवक्ता एकराज पाण्डेयले व्यवसायीहरु सडकमा आउन बाध्य पारिएको बताए ।

‘कमसेकम घर धनीले हिजो पैसा कमाउदा निर्धक्क तिरेको भाडा अहिले समस्या पर्दा घरधनीले राहत दिए हुन्न ?,’ प्रवक्ता पाण्डेयले दैनिक नेपालगन्जसँग भने, ‘होटलनै बन्द गरेर व्यवसाय पलायन भएपछि घरधनीले के गर्ने हो, नेपालगन्जको अवस्था के होला ? ’ उनले आर्थिक अवस्थामा सुधार नआउँदासम्म घरधनी र व्यवसायी हातेमालो गरेर अगाडी बढ्नुपर्ने अवस्था औंल्याए । नेपालगन्जमा मात्रै साना ठुला दुई हजारबढी होटल तथा रेष्टुरेन्ट छन् ।

Exit mobile version