जानकी–३ इन्द्रपुरमा गत फागुन २४ गते हतियारसहित आएका लुटेराले डकैती मात्रै गरेनन् सन्तोष कठरियाको हत्या गरे । ५÷७ जनाको समूहमा आएका लुटेराहरूले सन्तोषको घरको ढोका फोडी मध्यरात १ बजेतिर प्रवेश गरेका थिए । डाँकको समूहले धारिलो हतियारले आक्रमण गर्दा उनकी श्रीमति सविता राजवंशी घाइते भइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा राम कुमार कठरियाको जाहेरीमा अनुसन्धान गरिरहेको छ । घटना भएको लामो समयसम्म पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । यद्यपि, घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धान भैरहेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले उक्त घटनामा आशंकित ८ जनासँग सोधपुछ गरेपनि दोषी एकीन भैनसकेको बताए ।
प्रहरीले उक्त घटनाका अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई समेत निम्त्याएको छ ।
प्रहरी निरीक्षकको कमाण्ड घटना अनुसन्धानका लागि खटिएको विशेष टोलीले केन्द्रीय अनुसन्धान ब्यूरो सँग सहयोगमा अनुसन्धान अगाडि बढाएको छ । घटनाम थप अनुसन्धानका लागि विशेषज्ञ टोली माग गरिएको बाँके प्रहरी प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।
घटनाको अनुसन्धानमा विभिन्न पाटोहरूमा प्राविधिक पक्षमा सहयोगका लागि समेत विशेष टोली आवश्यक रहेको प्रहरी अधिकारी बताउँछन् ।
त्यस्तै, जानकी–६ कपासीका लोकेन्द्र बहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गरेको थियो । दुवै घटना एउटै प्रकृतिको रहेको र एउटै समूह संलग्न भएको आशंका प्रहरी अधिकारीहरूले गरेका छन् । उक्त घटना पनि करिब राती १ बजेतिर भएको थियो । डाँका समूह पेस्तोल, तरबार र खुकुरी समेत प्रवेश गरेर लोकेन्द्रलाई कुटपिट गर्दै धनमाल लुटेर लगेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ता गंगारामपूर्वा सडक खण्डमा २२ बर्षीय युवा इन्तजर भन्ने अरबी खाँको हत्या भयो । घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा प्रहरीले खाँको शव फेला पारेको थियो । घटनामा प्रहरीले १० जनासँग सोधपुछ गर्यो । अनुसन्धानमा रहेको प्रहरीले अपराधी एकीन भने गरिसकेको छैन । उक्त घटनामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष टोली गठन गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसँग सहयोग लिइरहेको छ । घटनामा प्रहरीले थप अनुसन्धानका लागि विशेषज्ञ टोली समेत माग गरेको छ । घटनामा संलग्नताको आशंकामा रहेका ३ जनालाई प्रहरीले हाल अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लुटपाट डकैती, हत्या, हत्या प्रयास लगायतका घटना र दोषी पत्ता नलाग्दा बाँके प्रहरी पछिल्लो समय निकै आलोचित छ । प्रहरीले केही घटनाका दोषीलाई भने पक्राउ गरिसकेको छ ।
गत चैत्र २९ गते नेपालगन्ज–६ मा भएको किशोरीमाथि धारिलो हतियार प्रहार घटनामा प्रहरीले दोषीलाई पक्राउ गरिसकेको छ ।
बाँके प्रहरी प्रवक्ता डाँगीले आइतबार पत्रकारसँगको भेटघाटमा चालु आ.व.मा भएका केही मुद्दा र त्यसमा भएको कारवाही बारे समेत जानकारी दिए । गत कार्तिक १४ गते डुडुवा गाउँपालिका वडा नं. १ मा १२ बर्षीया बालिकामाथि यौन हिंसा गरी हत्या गर्ने भारतीय नागरिक महेश चौहानलाई पक्राउ गरी अनुसन्धान पछि मंसिर ११ गते देखि पु्र्पक्षका लागि थुनामा रहेको प्रवक्ता डाँगीले बताए ।
त्यस्तै, फागुन २६ गते आफ्नी श्रीमति तथा दिदी भिनाजुलाई घरासयी विवादमा खुकुरी प्रहार गर्ने नेपालगन्ज–२२ का दिलिप पासलाई पनि पक्राउ गरी अनुसन्धान गरेकोमा चैत्र २२ गते जिल्ला अदालत बाँकेको आदेशले पुर्पक्षमा थुनामा रहेका छन् ।
त्यस्तै, फागुन अन्तिम साता प्रहरीले ८ जनालाई १ करोड ५६ लाख २८ हजार ३ सय अवैध रकम सहित नियन्त्रणमा लिएको मुद्दामा राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
गत चैत्र ९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित होटलबाट चन्द बहादुर कार्कीलाई पाटे बाघको छाला १ थान सहित नियन्त्रणमा लिई कारवाहीका लागि डिभिजन वन कार्यालय बाँके बुझाएको प्रहरीले जानकारी दिएको छ ।