बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या

बाँकेको बाल सुधार गृहमा रहेका बालकहरूले बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या भएको गुनासो गरेका छन् । ‘कानूनमा भएको ब्यवस्था कार्यान्वयन नहुँदा हामी अन्यायमा परेका छौ’, कानूनी बिवादमा परेका बालकहरू भन्छन्, ‘आचरण सुधार्न र कारागारमा हुने घटनाको रोकथामका लागि सजाय छुटको कानूनी ब्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनु पर्दछ ।’

कानूनी बिवादमा रहेका बालकहरूले सजाय छुट दिन सक्ने कानूनी ब्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । जयेन्दु बालसुधार गृहको अनुगमनमा पुगेका एडभोकेसी फोरम नेपाल र समाजसेवा जयकेश सिंहसंग बालकहरूले कानूनमा भएको ब्यवस्था कार्यान्वयनमा भए बालकहरूको आचरणमा सुधार आउने बताए ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३८ मा बालसुधार गृहमा रहेका बालबालिकाको सुधार अवधी घटाउन वा छुट दिन सक्ने ब्यवस्था गरेको छ । उक्त दफाको उपदफा १ मा बालअदालतको निर्णय बमोजिम बालसुधार गृह कुनै संस्था वा ब्यक्तिको संरक्षण वा निगरानीमा बसेका बालबालिकाको ब्यवहारमा सन्तोषजनक सुधार आएमा वाल कल्याण अधिकारीले त्यस्तो बालबालिकाको सुधार अवधी घटाउन वा छुट दिन बालअदालत समक्ष सिफारिस गर्न सक्नेछ भन्ने ब्यवस्था गरिएको छ । यसै गरि सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिम प्राप्त भएको सिफारिस जाँचबुझ गर्दा सुधार अवधी घटाउन वा छुट दिन मनासिव देखिएमा बालअदालतले बालबालिकाको बाँकी सुधार अवधी घटाउन बा छुट दिन सक्नेछ भनी ब्यवस्था भएकोमा सो बमोजिम थुना अवधी छुट नभएको अधिकारकर्मी समक्ष बालकहरूले गुनासो गरेका थिए ।

कानूनी बिवादमा रहेका बालकहरूले कानूनमा भएको ब्यवस्था कार्यान्वयन भएमा अनुशासन बस्न, पढाईलाई निरन्तरता दिन र बालसुधार गृहमा हुने अपराधिक घटना रोकथाममा समेत मद्दत पुग्ने भनी आफुहरूसंग बताएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

कानूनमा भएको सजाय छुट दिने ब्यवस्था कार्यान्वयन हुँदा बालसुधार गृहको माहोल पनि ठिक भएर जाने र बालकहरूको भबिष्य बनाउन सजिलो हुने बालकहरूको भनाई छ । ‘यहाँ आएर टेक्निकल बिषय पढ्न नपाएकाले बाहिर गएर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्दछन् । सजायमा छुट भएमा मैले अनुशासनमा बसे भने सजायमा छुट पाइन्छ भनेर बालकहरू स्वयम अनुशासनमा बस्न र बालसुधार गृहमा ब्यवस्थापनमा पनि सहज हुन्छ,’ अधिकारकर्मीसंगको कुराकानीमा बालकहरूले बताए ।

बालसुधार गृह प्रशासनले सिफारिस नगरि दिएमा सजाय छुट पाइँदैन भनेर स्वयम मोटिभेसन गराउनमा मद्दत पुग्ने भनाइ बालकहरूको छ ।

Exit mobile version