आज मंगलबार हनुमान जयन्ती विविध धार्मिक कार्यक्रम आयोजना गरिएका छन् ।
त्यसक्रममा नेपालगन्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने महोत्सव आयोजना गरिएको थियो ।
आज महोत्सवको अन्तिम दिन पुजापाठ सहित भण्डाराको आयोजना गरिएको छ ।
हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरू भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद ग्रहण गरेसँगै सम्पन्न भएको मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए । शोभायात्रामा नेपाल र भारतका सयौँ श्रद्धालु तथा सन्तमहन्थको सहभागिता रहेको थियो ।
यसअघि सोमबार अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनका साथै भारतको अयोध्याबाट आएका कलाकारहरूले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायतका कार्यक्रम गरिएका हनुमानगढीका थानापती महन्त उमेश गिरी बताए । उनका अनुसार हनुमानगढीमा विराट हनुमानजीको सालिक निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य भौतिक संरचनाको विकास भएमा श्रद्धालुहरूको आकर्षण थप बढ्नेछ ।