पर्यटनमै नेपालगन्जको सम्भावना खोजिंदै

नेपालगन्जले पर्यटकीय सम्भावनामा कत्तिको उज्यालो भविष्य बोकेको होला ? ट्रान्जिट हबका रूपमा मानिंदै आएको नेपालगन्जलाई गन्तव्यका रूपमा विकास गर्न नाट्टा बाँके च्याप्टरले थालेको पहलमा नयाँ बहस सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डसँगकै सहकार्यमा नाट्टाले पर्यटनमा नेपालगन्जको बृहत सम्भावना खोजी थालेको हो । ‘नेपालगन्जलाई विश्वभर सिटी ब्रान्डिङ्ग गर्दै क्रस बोर्डर टुरिजम को विकास कसरी गर्ने भन्ने योजना बनाउन थालेका छौं’, शनिबार नेपालगन्जमा आयोजना गरिएको सरोकारवालाहरू बीचको कार्यशालापछि नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘क्रस बोर्डर इस्यु समाधान हुनासाथ हामी योजनामा सफल हुन्छौं ।’ उनको संकेत हो भारतीय पर्यटकहरू नेपाल आउँदा सीमा नाकामा ब्यहोर्नु परेको झन्झट र सहर भित्र गरिने व्यवहारमा ब्यापक सुधारको आवश्यकता । ‘त्यसका लागि ब्यापक सचेतना त आवश्यक पर्छ नै तत्काल पर्यटन प्रहरी परिचालित गरिनुपर्छ’, अध्यक्ष सिग्देलले दिनभरको कार्यशालाबाट प्राप्त सुझावका आधारमा नेपाल टुरिजम बोर्डले योजना बनाउने जानकारी दिंदै भने, ‘त्यसलाई कार्यान्वयनका लागि हामी सबै सरोकारवालाहरूको ढोका ढक्ढक्याउने छौं ।’
कार्यशालाबारे प्रकाश पार्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले ‘बटम अफ अप्रोच’ बाट सहभागितात्मक मोडेलको पर्यटकीय गन्तव्य विकासका योजना तयार गर्न खोजिएको बताए । ‘तपाईहरूले दिएका सुझावका आधारमा १५ दिनभित्र स्पष्ट खाका सहितका कार्ययोजना तयार गरेर पठाउने छौं’, थपलियाले पर्यटकीय गन्तव्य बाँके–बर्दिया समस्या, चुनौति र समाधान विषयक कार्यशाला गोष्ठीमा बोर्डका तर्फबाट प्रतिबद्धता जनाउँदै भने, ‘माथिबाट यसो गर्नुस् होइन तपाईका कुराका आधारमा पर्यटकीय सम्भावना खोजी गर्ने हो ।’
स्थानीय सरकारका प्रतिनिधिहरूको सहभागितामा भएको कार्यशालामा बाँके, बर्दियाका पर्यटन व्यवसायीहरू, विषयगत विज्ञ, प्रहरी, प्रशासन, भन्सार, अध्यागमन लगायतका सरकारी प्रतिनिधि समेतको समूहगत छलफल गरिएको थियो । समूहगत प्रस्तुति गर्दै विभिन्न वक्ताहरूले कानुनी अवरोध र राज्यका निकायबाटै हुने असहयोगी भूमिकाले पर्यटनको अपेक्षित विकास हुन नसकेको औंल्याए । उनीहरूले पर्यटनमैत्री कानुन र प्रहरी प्रशासनको भूमिका खोजेका थिए ।
नेपालगन्ज उपमहानगर–पालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको कार्यशालामा पूर्व नगर प्रमुख विजय कुमार गुप्ता, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, कोहलपुर नगर पालिकाका उपप्रमुख संगीता सुवेदी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्मा, पर्यापर्यटन बर्दियाका अध्यक्ष कृष्ण भट्टराई, पर्यटन व्यवसायी देवानन्द अर्याल, क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्ण लगायतले विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।

Exit mobile version