यसै बर्ष कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको थियो । त्यसका लागि भारतीय पर्यटकहरू नेपालगन्ज आएर यहाँबाट कैलाश मानसरोवर दूरदर्शनका लागि जाने गरेका छन् । निजी क्षेत्रको पहल र प्रयासले सुरु भएको पर्वतीय उडानबाट कैलाश मानसरोवरको दुरदर्शन हालसम्म ५ सय बढीले गरिसकेका छन् भने दुई सय बढी बुकिङ्ग गरेकाहरू दर्शनको क्रममा रहेका छन् ।
कैलाश मानसरोवर दुरदर्शनका लागि आउने धार्मिक पर्यटकहरूलाई बाँके, बर्दियाका धार्मिक स्थलहरूसँग समेत जोड्ने प्रयास भैरहेको सिद्धार्थ हस्पिटालिटी गु्रपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिएका छन् । उनले मंगलबार मात्रै कैलाश मानसरोवर दूरदर्शनका लागि आएका ६० जना धार्मिक पर्यटकले बर्दियाको बाँसगढी स्थित केदारेश्वर धामको दर्शन गरेको जानकारी दिए । ‘नेपालगन्ज आउने धार्मिक पर्यटकहरूलाई बाँके बर्दियाका पर्यटकीय तथा धार्मिक स्थलबारे जानकारी दिंदै त्यहाँ घुम्न प्रेरित गर्दै आएका छौं’, उनले भने, ‘यसले धार्मिक पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउन सकिने हाम्रो विश्वास छ ।’
केदारेश्वर धाम दर्शन गर्न पुगेका धार्मिक पर्यटकहरूलाई मन्दिरका संस्थापक अध्यक्ष लिलाधर शर्मा र वर्तमान अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वागत गरेका थिए ।
यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगन्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताएका थिए । कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताएका थिए । त्यसपछि निरन्तर रूपमा पर्वतीय उडान मार्फत कैलाश मानसरोवर दर्शनको व्यवस्था व्यवसायीहरूले मिलाएका छन् ।