देशमा आजः ८ बजे ८ खबर

१. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गरेका छन् ।

२. जसपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई दिएको छ ।

३. राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

४. आइतबारदेखि नेपालका सात वटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५. मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेतीको विस्तार भइरहेको कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

६. विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

७. वेष्ट इण्डिज ए ले आइतबार भएको दोस्रो टी–२० खेलमा नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १–१ को बराबरीको अवस्थामा पुगेको छ ।

८. डढेलो नियन्त्रण गर्न बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

Exit mobile version