आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज बुधबार विविध कार्यक्रम गरी मनाइँदैछ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगायतका मजदुर संगठनले सभालगायतका विविध कार्यक्रम गरी मनाउन लागेका जनाएका छन् ।

दिवसका अवसरमा आज नेपालगन्जमा जिफन्टको आयोजना र्याली, कोणसभा तथा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने जिफन्ट नगर उपाध्यक्ष दिपेश आचार्यले जानकारी दिएका छन् । आज विहान विपीचोकबाट सुरु हुने र्याली जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर सभामा परिणत भएसँगै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु हुने उपाध्यक्ष आचार्यले बताए ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीका गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलता समेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

Exit mobile version