देशमा आजः ८ बजे ८ खबर

१. प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् ।

२. कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् ।

३. प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

४. नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छ ।

५. वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

६. कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो ।

७. गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।

८. पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् । व्यास नगरपालिका–२ का १९ र व्यास–३ का २१ गरी उक्त घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबायाँका घर भत्काउने सर्तमा मुआब्जा बुझेका थिए ।

Exit mobile version