१. नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग बुधबार भएको खेलमा ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ ।
२. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताएका छन् । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
३. नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताएका छन् ।
४. गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिक मिलेर अगाडि बढ्नुपर्ने बताए ।
५. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको सुरुआत गरे ।
६. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे विज्ञसमक्ष सुझाव सङ्कलन गरेको छ । काठमाडौँमा बुधबार मन्त्रालयले पत्रकार, बुद्धिजीवी र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग सुझाव लिएको हो ।
७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए ।
८. अपांगता भएकालाई सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा निःशुल्क उपलब्ध गराउने सहमति कार्यान्वयन नगरेको भन्दै तनहुँका दीपक भण्डारीले काठमाडौंमा अनशन थालेका छन् ।