१. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन उद्घाटन गर्दै उनले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।
२. पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो ।
३. गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
४. पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको छ ।
५. कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।
६. सरकारले आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो ।
७. चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।
८. काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ ।