नेकपा एमाले बाँकेको आसन्न निर्वाचनका लागि प्रतिनिधि छनोट सकिएको छ । शनिबार जिल्लाका ८१ वटै वडा, भातृ संगठन लगायतका प्रतिनिधि छनोटका इकाइहरूबाट जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट सकिएको हो । ‘सबै ठाउँबाट झण्डै पाँच सय प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको छ’, एमाले बाँकेका सचिव रत्न खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘कहीकतै कुनै किसिमको समस्या÷अवरोध उत्पन्न भएन ।’
प्रतिनिधि छनोटसँगै आसन्न निर्वाचनको तयारीले तिव्रता पाएको छ । वडा स्तरमा प्रतिनिधि छनोटका लागि एकै दिन तोकेको एमाले बाँकेले सकेसम्म सर्वसम्मत, हुन नसके मतदान प्रक्रियाबाटै प्रतिनिधि छनोट निर्देशन दिएको थियो । पहिलो पटक वडास्तरमै प्रतिनिधि निर्वाचनको अधिकार सम्पूर्ण रूपमा प्रत्यायोजन गरिएकाले वडाका प्रतिनिधि छनोटमा निकै आकर्षण देखिएको एमाले नेताहरू बताउँछन् । ‘वडा स्तरले नै सम्पूर्ण निर्णयको अधिकार पाएकाले सर्वसम्मत छनोट गर्न सहज भयो’, एमाले बाँकेका उपसचिव दिपक कुमार बर्माले भने, ‘यसले अधिवेशनलाई अझ मजबुत बनाएर नेतृत्व चयन प्रक्रियामा सहभागिता बढाउँछ ।’ उपसचिव बर्मा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बाट प्रतिनिधिमा निर्वाचित भएका छन् । उनीसँगै १८ नं. वडाबाट ऐन बहादुर हमाल, रविन्द्र लम्साल, राजेन्द्र कंडेल, विजय रेग्मी तथा महिला तर्फ मिना बराल, पार्वति सिंह र कविता क्षेत्री छनोट भए ।
जिल्ला कमिटिमा दाबेदारी गर्ने मिन बहादुर मल्ल, उषा भण्डारी लगायतका कतिपय अधिवेशनका लागि वडाबाटै प्रतिनिधि छनोट हुन सकेनन् । मल्ल र भण्डारी नगर अध्यक्षका आकांक्षी रहेपनि दुवैलाई जिल्ला कमिटिमा ‘समावेश’ गर्ने आश्वासन नेतृत्वले दिएको थियो । जिल्ला नेतृत्वका आकांक्षीहरूले बनाएको समूह हाबी हुँदा कतिपय ठाउँमा प्रतिनिधि छनोट प्रभावित भएको पार्टी नेताहरू बताउँछन् ।
आगामी जेठ ४ र ५ गते हुने एमाले बाँकेको नवौं जिल्ला अधिवेशनमा बहालका अध्यक्ष किस्मत कुमार कक्षपति सँगै पूर्व अध्यक्ष निरक गुरुङ्ग प्रतिस्पर्धीका रूपमा चर्चामा छन् । उनीहरूसँग वर्तमान उपाध्यक्ष डिल्ली बिसी, नेता घननाथ खनाल पनि अध्यक्षका प्रत्याशीका रूपमा देखिन्छन् । प्रतिनिधि छनोटका क्रममा अध्यक्षका प्रत्याशीहरू समूहगत रूपमै सक्रिय भएको बताइएको छ । ‘प्रतिनिधि छनोटले नेतृत्वलाई स्पष्टता प्रदान गरेन’, दाबेदारहरू बारे विश्लेषण गर्दै एमालेका एक नेताले भने ।