रोजगारी कसरी सम्भव होला ? नेपालगन्ज उपमहानगरपालिकामा रोजगारीको सुनिश्चितताका लागि पहल थालिएको छ । नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकाले रोजगारी अभिबृद्धिका लागि पहल थालेको हो ।
त्यसक्रममा आवश्यक रोजगारीको सम्भावनाका लागि मंगलवार निजी क्षेत्र तथा सरोकारवालासंग छलफल गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारीका अवसर सिर्जना गर्न सके नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिनेमा जोड दिइएको छ ।
कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले आगामी नीति तथा कार्यक्रम र बजेटमा रोजगारी प्रबद्र्धनका कार्यक्रम अझ ठूलो आकारमा समेट्ने बताउँदै आवश्यकता अनुसारका दक्ष जनशक्ति उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे । रोजगार सेवा केन्द्रको उपादेयता र प्रभावकारिता बढ्दै गएको उल्लेख गर्दै नगर प्रमुख विष्टले बैदेशिक रोजगारीमा रहँदा आएका समस्याहरु लिएर आउने क्रम बढेको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको अध्यक्षता भएको कार्यक्रममा रोजगार सेवा केन्द्रकी रोजगार संयोजक मञ्जु ज्ञवालीले छलफलको उद्देश्य, सेवा केन्द्रमार्फत भइरहेका काम र आगामी योजनाका विषयमा जानकारी गराएकी थिइन् । अधिकृत दिपेन्द्र श्रेष्ठले रोजगार सेवा केन्द्रको अवधारणा, संरचना र सेवाहरुबारे जानकारी गराउँदै प्रस्तुतिकरण गरेका थिए ।
छलफल कार्यक्रममा श्रम कार्यालय नेपालगन्जका प्रमुख लोेकेन्द्र विसी, आशा कुमारी श्रेष्ठ, भेरी प्राविधिक शिक्षालयकी प्रमुख उद्योगी चम्पालाल बोथरा, व्यवसायीहरु कृष्ण प्रसाद श्रेष्ठ, भिम प्रसाद बराल, उद्यमी डिला शाह, मेडिकल कलेज नेपालगञ्जकी पंचम गुरुंग लगायतले रोजगारी सिर्जना, दक्ष जनशक्ति उत्पादन, श्रमिक अधिकार संरक्षण लगायतका विषयमा धारणा राखेका थिए ।
आइएलओका अमित केसीले सहजीकरण गरेको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।