चलचित्र हेर्नका लागि भारतीयहरू नेपालगन्ज पुग्न थालेका छन् । नेपालगन्जमा गत साउनमा सन्चालनमा आएको सिने रोयलमा हिन्दी भाषाका चलचित्र हेर्नेमा करिब ३० प्रतिशत भारतीय दर्शक हुने गरेका हलका मार्केटिङ प्रमुख सौगात विक्रम शाहले जानकारी दिए । उनले बाँकेको सीमावर्ती भारतमा २५० किलोमिटर आसपासमा सिने रोयल स्तरको चलचित्र हल नरहेकोले भारतीय दर्शकहरू नेपालगन्ज पुग्ने गरेका बताए ।
नेपाली उपभोक्ताहरू किनमेलका लागि सीमावर्ती भारतीय बजार पुग्ने गरेकोमा भारतबाट चलचित्र हेर्नकै लागि मानिसहरू नेपालगन्ज आउँनु आर्थिक हिसाबले अर्थपूर्ण रहेको शाहको दाबी छ । उनले भने, भारतीयहरू यहाँ आउँदा चलचित्र मात्रै हेर्दैनन अन्य पर्यटकीय स्थलसम्म पनि पुग्छन् । चलचित्र हेर्न आउँदा परिवारसहित आउने गरेका र यहाँ कम्तीमा एकदिन बिताउने गरेका हामीले पाएका छौं ।
नेपालगञ्जमा सिने रोयल र क्युएफएक्स बागेश्वरी गरि दुई वटा मल्टी स्क्रीन हलहरू रहेका छन् । ५६२ सिट क्षमताको सिने रोयलको लक्षित दर्शकहरूमा भारतीय दर्शकहरू पनि हुन् ।
सिने रोयलमा हङकङबाट ल्याइएको थिएट्रिकल म्यानेजमेन्ट सिस्टम (टीएमसी) प्रविधि जडान गरिएको छ । एट्मस ध्वनि र थ्रीडी प्रविधि जडान छ ।