मन्त्री भन्छन्, ‘छलफलबाट राजनीतिक निकास’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् ।
रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी शुक्रवार हुन बाँकेको कोहलपुर आइपुगेका मन्त्री अर्यालले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।
मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधोपचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताए ।
मन्त्री अर्यालले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिँदै महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गरे । ‘वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई योजना बनाएर काम गनुपर्छ’, मन्त्री अर्यालले पत्रकारसँग भने ।
मन्त्री अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भइरहेको जानकारी दिए । सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोषले हरेक नागरिकहरुसंग प्रत्यक्ष जोडिएर सहजता प्रदान गर्न किसिमले काम गर्ने मन्त्री अर्यालले बताए ।
पत्रकारसँग कुरा गर्दै मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रम समाधान अभियान सञ्चालन हुन लागेको जानकारी दिए । उनका अनुसार, जेष्ठको १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा दुई–दुई दिनको ‘श्रमाधान’ रोजगार मेला सुरु गर्न लागिएको हो ।
रोजगार दाता र रोजगार खोजी रहेका नेपाली नागरिकहरु विचको पुलको काम गर्नका लागि संघिय मन्त्रालय अन्तर्गत प्रदेश मन्त्रालय, निजी क्षेत्र, सर्वसाधारण नागरिक सबैको सहयोगमा रोजगार मेला आयोजना गर्न लागेको बताइएको छ ।
नेपालमा कस्ता कस्ता रोजगार दाताहरु रहेछन् ? त्यसको जानकारी पाउने, विदेश जाँदा कस्तो तयारी गरी जानुपर्दो रहेछ ? स्वदेशमा कस्ता कस्ता रोजगारीका सम्भावनाहरु रहेछन् ? कस्तो सिप भयो भने तुरुन्त रोजगारी पाइने रहेछ ? भन्ने सूचना मेलाबाट दिइने छ ।
मन्त्री अर्यालले अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको दुई मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था ल्याएको बताए ।