समाजको सामाजिक परिर्वतनका लागि गठन गरिएका विभिन्न समाजहरू राजनीति गर्ने अखडा बन्न नहुने बाँके नेपालगन्जमा उपमहागरपालिकाका प्रमुख प्रशान्त विष्टले बताएका छन् । बाँके जिल्लामा छरिएका रहेका साहुहरूको समाज साहु समाज समिति नेपालगन्जका बाँकेको १४ औ वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मेयर विष्टले उक्त कुरा बताएका हुन् ।
प्रमुख अतिथिको रूपमा पुगेका नगर प्रमुख विष्टले भने, ‘समाजमा रहने विभिन्न व्यक्तिहरूको सामाजिक विकासमा निकै ठुलो महत्व राख्ने गठित समाजहरूको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनिति विषय हावि हुनु हुदैन जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ ।’ समाजिक विकासका लागि निर्माण गरिएका समाजहरूले समाजिक विकासमा मात्रै ध्यान दिएर साझा बन्नु पर्ने बताउँदै नगर प्रमुख विष्टले भने, ‘राजनीतिका लागि अन्य पार्टीहरू रहेका छन् तर हाम्रो समाज विलकुल साझा बन्नु पर्छ र समाजमा रहेका व्यक्तिहरूको आर्थिक, शैक्षिक तथा स्वास्थ्यको विकास लागि कार्य गर्दै आएको पाइएको छ भने यस्तो हुनु पर्दछ ।’ नगर प्रमुख विष्टले साहु समाज समितिलाई धन्यवाद दिदै बाँकेमा स्थापना गरीएका अन्य समाजहरूले समेत समाजिक विकासमा उल्लेखिय भूमिका खेलेको प्रसंग समेत गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै साहु समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष राम लोचन साहले साहु समाज समितिले हाल सम्म गर्दै आएका कामका बारेमा प्रकाश पार्दै निकै अप्ठारो परिस्थितिमा समेत सबैको सहयोगले गर्दा साहु समाजलाई वर्तमान अवस्थामा ल्याउन सकिएका बताए । सदस्य साहले भने, ‘संघीय तथा स्थानीय निकायको सहयोगले अहिले साहु समाज समितिको आफ्नो हल बन्न गैरहेको छ भने अन्य सामाजिक सेवाका कामहरू गर्दै आएका छांै ।’
यसैगरी अर्का समाजसेवी तथा कार्यक्रमका विशिष्ट अतिथि माधवराम बर्माले साहु समाजले सामाजिक स्तरमा समेत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै भने,‘व्यक्तिगत रूपमा भन्दा पनि साहु समाजले नेपालगंजको समाजलाई केही दिने उदेश्यका साथ आफ्नै भवन तथा मन्दिरहरू निर्माण गर्दै आएको हुदाँ सामाजिक भूमिका राम्रो देखेको छु ’ ।
यसैगरी समितिका सदस्य हरि साहुले साहु समाजमा युवा तथा महिला समाज समिति समेत रहेको हुँदा महिला तथा युवाहरूको भुमिकालाई राज्य स्तरबाट समेत हेर्नु पर्ने बताए । उनले भने, ‘समाजमा विभिन्न समितिहरू रहेका छन,जसमा युवा समिति र महिला समिति रहेको छ जसलाई मुल समिति तथा स्थानिय राज्यले समेत चासो र ध्यान दिन जरुरी रहेको छ ।’ साहु समाज समितिका अध्यक्ष हंसराम साहुको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सहजीकरण समितिका सचिव प्रदिप साहुले गरेको थिए भने स्वागत मन्तव्य समितिका सदस्य प्रहलाद साहुले गरेको थिए ।