बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिका–४ जयरामपूर्वामा भएको आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिएका छन् ।
स्थानीय जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खरले छाएका र एक आपसमा जोडिएका घरगोठमा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक मल्लले बताए । क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलगायतको टोली घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि त्रिपाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताए । उनले हावाहुरीको मौसममा आगलागीको सम्भावना अत्यधिक रहेकाले सचेत रहन आग्रह गरे ।