सजल गैरे
बाँकेमा आगामी जेठ २३ र २४ गते तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आइबिपी च्याम्पियनसिप–२०८३ आयोजना हुने भएको छ । बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघले शनिवार नेपालगन्जमा पत्रकार भेटघाट गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।नेपालगन्ज रंगशाला कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका महिला तथा पुरुष खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा हुन लागेको हो । नेपाल स्ट्रेन्थलिफ्टिङ्ग फेडेरेसनको संयोजन र वल्र्ड स्ट्रेन्थलिफ्टिङ्ग फेडेरेसनको आबद्धतामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।आयोजक बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका अध्यक्ष विनी टण्डनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, प्रतियोगितामा इन्क्लाइन बेञ्च प्रेस, ह्याक लिफ्ट र टु ह्यान्ड बार्बेल कर्ल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक खेलाडीलाई हरेक विधामा तीन–तीन अवसर दिइनेछ । विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गराइने जनाइएको छ । प्रतियोगितामा सब–जुनियर मेनतर्फ १३ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी हुनेछन् । जुनियर मेनतर्फ १९ देखि २३ वर्ष उमेर समूहका खेलाडी रहनेछन् । सिनियर मेनतर्फ ६० केजीमुनि, ६८ केजीमुनि, ७६ केजीमुनि, ८५ केजीमुनि र ८५ केजीमाथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मास्टर मेन–१ मा ४० देखि ५० वर्ष र मास्टर मेन–२ मा ५० वर्षमाथिका खेलाडी रहनेछन् । सिनियर विमेनतर्फ ६० केजीमुनि र ६० केजीमाथि दुई समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा अध्यक्ष टण्डनले भनिन्, ‘प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई थप चलायमान बनाउने विश्वास लिएका छौं । राष्ट्रिय स्तरका खेलाडीलाई एउटै मञ्चमा ल्याएर प्रतिस्पर्धा गराउनु हाम्रो उद्देश्य हो ।’बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका सचिव चन्द्रशेखर थापाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने जानकारी दिए । सह–सचिव यन्थस केसीले ओभरअल च्याम्पियन स्ट्रेन्थलिफ्टिङ्ग मेन च्याम्पियन र मेन आइबिपी च्याम्पियनलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइने बताए । सह–सचिव केसीका अनुसार, ओभरअल च्याम्पियन स्ट्रेन्थलिफ्टिङ्ग विमेन च्याम्पियन र विमेन आइबिपी च्याम्पियनलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट टिमलाई टिम इभेन्ट कप पनि प्रदान गरिने कार्यक्रम रहेको छ ।प्रतियोगितालाई थप आकर्षक बनाउन नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएका ओलम्पियन खेलाडीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ । सचिव थापाका अनुसार, सम्मानित हुने खेलाडीमा सन् १९८४ को २३औं ओलम्पिक लस एन्जलसमा सहभागी सुरेन्द्रबहादुर हमाल, सन् १९८८ को २४औं ओलम्पिक सियोलमा सहभागी पार्वती थापा, सन् १९९२ को २५औं ओलम्पिक बार्सिलोनामा सहभागी अनिता श्रेष्ठ र सन् २०२० को ३२औं ओलम्पिक टोकियोमा सहभागी सोनिया भट्ट रहेका छन् ।आयोजकले प्रतियोगिताले नेपालगन्जलाई राष्ट्रिय खेलकुद नक्सामा थप स्थापित गर्ने दाबी गरेको छ । ‘स्थानीय र राष्ट्रिय स्तरका खेलाडीलाई एउटै मञ्चमा ल्याउने प्रयास गरेका छौं,’ अध्यक्ष टण्डनको भनाइ छ, ‘यसले नयाँ प्रतिभाको पहिचान गर्न सहयोग पुग्नेछ ।’






























