पशु प्रजनन कार्यालयद्वारा १७ हजार केजी घाँसको बीउ उत्पादन

खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले करिब १७ हजार केजी विभिन्न घाँसको बीउ उत्पादन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जातको १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै जै घाँसको आठ हजार ७५५, टियोसेन्टी घाँसको सात हजार ११०, भेच घाँसको पाँच सय, वर्षिम घाँसको चार सय ५० र ज्वाइन्ट भेच घाँसको ३० गरी १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको छ । “उत्पादन गरेको बीउ किसानलाई पनि बिक्री वितरण गर्ने गरेका छाँै, त्यसबाहेक हामी आफँै घाँसखेतीको गर्ने गरेका छाँै”, कार्यालय प्रमुख खनालले भन्नुभयो, “अहिले किसानले पनि घाँसखेती गर्न बीउ खोज्दै आउन थाल्नुभएको छ ।”

यस वर्ष जै घाँस प्रतिकेजी रु ८०, वर्षिम दुई सय ७५, भेच एक सय २०, ज्वाइन्ट भेच ८० र टियोसेन्टी एक सय २० प्रतिकेजी बिक्री मूल्य निर्धारण भएको थियो । चालु आवको वैशाखसम्म १० हजार ७७३ केजी घाँसको बीउ बिक्री भएको राष्ट्रिय पशु प्रजनन कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताउनुभयो ।

सबैभन्दा धेरै जै घाँसको बीउ छ हजार ८७९, टियोसेन्टी तीन हजार ९७, भेच चार सय १२, वर्षिम तीन सय ८१ र ज्वाइन्टभेच तीन दशमलव पाँच केजी बिक्री गरी रु आठ लाख ५९ हजार २७८ राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

बाँकेको सदरमुकाम नेपालगञ्जबाट १५ किमी पश्चिमतर्फ रहेको खजुरा गाउँपालिका–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा राष्ट्रिय पशु प्रजनन कार्यालय अवस्थित छ । दुई हेक्टरमा वनजङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँसखेती हुने जैशीको भनाइ छ ।

यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ–नौवटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी २४ जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण हुँदै आएको छ ।

Exit mobile version