नेपालगन्जमा बाँके रोजगार मेला–२०८१
बाँकेमा बेरोजगारीको अवस्था दर्शाउने गरि नेपालगन्जमा ‘रोजगार मेला– २०८१’ शुरु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि आयोजना गरेको दुई दिने ‘बाँके रोजगार मेला’मा रोजगार माग गर्नेहरुको आकर्षणले बेरोजगारीको अवस्था दर्शाएको हो ।
स्थानीय तहमा सूचीकृत बेरोजगारहरुको ठुलो संख्यामा सहभागिता रहेको मेलामा पहिलो दिननै ६ सयबढीले विभिन्न पदहरुमा रोजगारी माग गरेको रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले भने ।
संघका महासचिवसमेत रहेका संयोजक रानाभाटका अनुसार, मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नैैै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए ।
‘पहिलो दिन शुक्रबार जिल्लाका विभिन्न गाउँगाउँबाट आएका करिब ६ सय बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका छन्,’ संयोजक रानाभाटले भने । उनका अनुसार, रोेजगार खोज्ने झन्डै तीन सय जनाले स्टलमै फारम भरेका छन् । त्यसका लागि मेलामा रोेजगारदाताका ४० वटा स्टल राखिएका छन् । ‘तीन सय जनाकै हाराहारीमा रोजगारीका लागि फर्म भरेकाहरुलाई संघका स्वयम्सेवकले सूचीकृत गरेर सम्बन्धित रोजगारदाता कहाँ पठाइएका छन्,’ पहिलो दिननै ६ सयबढीले रोजगारी माग गरेको जानकारी दिंदै रानाभाटले भने । शनिवार यो संख्या बढ्ने निश्चित छ, उनले भने ।
संघका अध्यक्ष टंकबहादुर धामी बाँके रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्यामा अभियान सञ्चालन गर्ने बताउँछन् । ‘त्यसका लागि आवश्यक तालिम, प्रशिक्षणका लागि स्थानीय सरकारसँग साझेदारी गरिनेछ,’ अध्यक्ष धामीले भनेका छन् ।
संघले रोजगार मेलामा फर्म भरेका ब्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने योजना सुनाउँछन् । जसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आगामी दिनमा सहकार्य गर्ने संघको योजना रहेको छ ।
‘यसरी विश्वासका गाउँगाउँबाट आएर रोजगारी खोजी गर्नेहरुलाई सम्बन्धित पालिकासँग समन्वय गरेरै रोजगारीसँग जोड्न आवश्यक छ,’ मेलाको साझेदार खजुरा गाउँपालिकाका वडाध्यक्ष धनीराम ओलीले दैनिक नेपालगन्जसंग भने, ‘हाम्रो पालिका त्यसमा काम गर्न तयार छ ।’
बाँके रोजगार मेला आयोजना तथा व्यवस्थापन समितिका सदस्यसमेत रहेका नेपालगन्ज उपमहानगरपालिका, रोजगार संयोजक मञ्जु ज्ञवालीले रोजगारीका लागि आएका सबैलाई आवश्यक सहजीकरण गरेर रोजगारीसँग जोड्नुनै आयोजनाको चुनौती भएको बताइन् । ‘यो चुनौतीलाई हामी सबै मिलेर सफल बनाउनुपर्छ, उहाँहरु सबैलाई रोजगारीसँग जोड्नुपर्छ,’ रोजगार संयोजक ज्ञवालीले दैनिक नेपालगन्जसँग भनिन् ।
मेला संयोजक रानाभाटले उद्योग, व्यवसाय क्षेत्रका लागि आवश्यक जनशक्ति परिपूर्ति गरेर बाँकी रहेकाहरुलाई सबै पालिकासँग सहकार्य गरेर दक्षता अभिवृद्धि गरि रोजगारीसँग जोड्ने पहल संघले लिने बताए । ‘यत्तिकै कहाँ छाडिएला ?’ संघका महासचिवसमेत रहेका मेला संयोजक रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘दक्ष बनाएरैपनि रोजगारी दिने अभियान हो ।’