प्याकेज दिन तुलसी होलीडेको सेवा विस्तार

पर्यटनमा व्यवसायिकताको आवश्यकता औल्याइएको छ । सोमवार, नेपालगन्जमा तुलसी होलीडेको सेवा शुभारम्भ कार्यक्रममा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन सेवामा व्यवसायिकता विकास हुन नसकेको भन्दै त्यसको आवश्यकता औल्याएका हुन् ।

नेपालगन्ज पर्यटनका दृष्टिले महत्वपूर्ण ठाउँ भएको धारणा राख्दै अध्यक्ष सिग्देलले भने, ‘यहाँका होटल तथा पर्यटन व्यवसायमा व्यवसायिकता छैन, विकासको खाँचो छ ।’ उनले पर्यटन व्यवसायीलाई सुरक्षित बनाउन झन्झटिला र अव्यवहारिक सरकारी प्रक्रियाहरु हटाउँदै जानुपर्ने बताए ।

तुलसी होलीडेको सेवा उद्घाटन गर्दै, प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पर्यटन व्यवसाय फष्टाउन शान्ति सुरक्षाको सुनिश्चितता आवश्यक हुने बताए । ‘त्यसका लागि हामी सुरक्षा निकाय प्रतिबद्ध छौं,’ प्रजिअ जोशीले पर्यटनमा सेवाको गुणस्तर र पारदर्शितामा जोड दिंदै भने, ‘पार्किङ, अटोसहितका ट्राफिक व्यवस्थापन र सरसफाईको अवस्थामा सुधार आवश्यक छ ।’ तुलनात्मक दृष्टिले पर्यटनमैत्री वातावरण बन्दै गएको प्रजिअ जोशीको भनाइ छ ।

बाँकेको सुरक्षा व्यवस्थामा उल्लेख्य सुधार हुँदै आएको दावी गर्दै प्रजिअ जोशीले सामाजिक धार्मिक विविधताका कारण ‘हाइब्रिट सोसाइटी सधैं संवेदनशील रहने भएकाले नागरिक सहयोग’को आग्रह गरे ।

पर्यटन विकास मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले राज्यले पर्यटन विकासका क्षेत्रमा नेपालगन्जमा आवश्यक वातावरण बनाइदिनुपर्ने बताए ।

तुलसी होलीडेका सञ्चालक पदम सुवेदीले नेपालगन्जमा ट्राभल प्याकेजसहितका ‘आइटिनरी डेभलप’ गर्न आफुले योजना बनाइरहेको बताए ।

Exit mobile version