प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार बुटवलमा भएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताउनुभएको हो ।

प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत बताउनुभयो ।तपाईँहरू मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ,´ उहाँले भन्नुभयो,प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौँ । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।´

रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढेको तर प्रशासन सेवा तर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेको भनाइ उहाँको छ । कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ । कर्मचारी साथीहरू संवादमा आउन जरुरी छ,´ उहाँले भन्नुभयो,संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ । तर, ढोका बन्द गर्ने काममा कोही नलाग्नुस् ।´

प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबूत बनाउन सरकार लागिपरेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रूपमा उठेको बताउनुभयो । हाम्रा साथीहरू अदालत धाएकै कारण कर्मचारीले जुन वृत्तिविकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो,´उहाँले भन्नुभयो,अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरू नै लाग्यौँ । ती नमिलेका कुराहरू मिलाउन सकिन्थ्यो, तर कर्मचारी साथीहरू ढोका नै बन्द गरेर लाग्यौँ ।´ संगठनका प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्यकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजिकरण महासचिव भिमलाल खनालले गर्नु भएको थियाे ।

Exit mobile version