विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

भारतको उत्तर प्रदेशस्थित सीमावर्ती बजार रुपैडिहामा बुधबार बिहान एक किशोरी फिल्मी शैलीमा मोबाइल टावरमा चढेपछि स्थानीय क्षेत्रमा केही बेर तनाव उत्पन्न भएको छ ।

रुपैडिहास्थित एसबीआई बैंक नजिकै रहेको एयरटेलको टावरमा बुधबार बिहान करिब ८ बजे ती किशोरी चढेकी थिइन् । स्थानीय बासिन्दाले किशोरीलाई टावरको उचाइमा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय पत्रकार सन्तोष शुक्लका अनुसार, सूचना पाएलगत्तै रुपैडिहा थानाका उप–निरीक्षक कादिर खाँ र भीम सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले लाउडस्पिकरको प्रयोग गरी किशोरीलाई सम्झाउने बुझाउने प्रयास गरेको थियो । लामो समयको कसरत र चुनौतीपूर्ण प्रयासपछि प्रहरीले उनलाई सकुशल तल ओराल्न सफल भएको छ ।

उद्धार गरिएकी किशोरी रुपैडिहाको रानीपुरवा निवासी सब्बीर अहमदकी छोरी हुन् । उद्धारका क्रममा उनकी आमा कदरुन निशा र भाइ सरीफ अहमद पनि घटनास्थलमा उपस्थित थिए । युवतीको सुरक्षा र थप सोधपुछका लागि महिला प्रहरी कनक सरोज र रिया मौर्याको निगरानीमा उनलाई रुपैडिहा थाना लगिएको छ ।

प्रारम्भिक अनुसन्धान र पारिवारिक स्रोतका अनुसार, ती किशोरी आफूले मन पराएको युवासँग विवाह गर्न चाहन्थिन् । तर, परिवारले विवाहको उमेर नपुगेको भन्दै अस्वीकार गरेपछि उनले परिवारमा दबाब सिर्जना गर्न यो जोखिमपूर्ण कदम चालेको बताइएको छ । घटनास्थलमै रहेकी किशोरीकी आमा रुँदै आफैले जन्म दिएकी छोरीलाई आफुले सम्झाउन नसकेकोमा निकै दुखी रहेको बताइन् ।

Exit mobile version