बाँके जिल्ला अदालत बार एशोसिएसनको ६० वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ । अधिवक्ता पुनम श्रेष्ठ बार एशोसिएसनको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुँदै संस्थाको इतिहासमै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।
नेपाल बार एशोसिएसन अन्तर्गत बाँके जिल्ला अदालत बार एशोसिएसनको निर्वाचन समितिले सार्वजनिक गरेको निर्विरोध निर्वाचित घोषणा सम्बन्धी सूचनाअनुसार सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रह्लाद बहादुर कार्कीले जारी गरेको सूचनाअनुसार अध्यक्षमा अधिवक्ता पुनम श्रेष्ठ निर्वाचित भएकी छन् । त्यसैगरी उपाध्यक्षमा अधिवक्ता जय प्रसाद पौडेल, सचिवमा अधिवक्ता शक्ति सिंह हमाल तथा कोषाध्यक्षमा अधिवक्ता चाहना शाह निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा अधिवक्ता रामनाथ साहु तेली, अधिवक्ता जमालुदिन अन्सारी, अधिवक्ता दामोदर भट्ट, अधिवक्ता सरस्वती शर्मा, अधिवक्ता मान बहादुर रावत, अधिवक्ता टिकाराम जैसी तथा अधिवक्ता उत्सव रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम जेठ १२ गते सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता प्रह्लाद बहादुर कार्कीले नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।
बाँके जिल्ला अदालत बार एशोसिएसनका निवर्तमान अध्यक्ष मेहर सिंह खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक कुमार दाहाल, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ता, नेपाल बार काउन्सिलका पार्षद ईश्वरी प्रसाद ज्ञवाली, वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, पूर्व अध्यक्ष जनक बहादुर शाही तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मेहर सिंह खत्रीले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधि तथा उपलब्धिहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पदभार ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठले कानून व्यवसायीहरूको हकहित, पेशागत मर्यादा तथा व्यवसायिक सुरक्षाका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताइन् । उनले बार र बेन्चबीचको सम्बन्धलाई अझ सुदृढ, समन्वयात्मक र सौहार्दपूर्ण बनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
महिला नेतृत्वको यो ऐतिहासिक उपलब्धिलाई बाँके जिल्लाको कानून व्यवसायी क्षेत्रमा समावेशिता, समान अवसर र महिला सशक्तीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।





























