बाँके जिल्ला अदालत बार एशोसिएसनको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। यसपटकको निर्वाचनमा अधिवक्ता पुनम श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाएसँगै बाँके बारले इतिहासमै पहिलोपटक महिला नेतृत्व पाएको छ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रह्लाद बहादुर कार्कीका अनुसार, निर्धारित पदहरूमा तोकिएको समयभित्र आवश्यक संख्यामा मात्र उम्मेदवारी दर्ता भएकाले मतदान प्रक्रिया बिना नै सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
११ सदस्यीय जिल्ला बारमा उपाध्यक्षमा अधिवक्ता जय प्रसाद पौडेल, सचिवमा अधिवक्ता शक्ति सिंह हमाल, कोषाध्यक्षमा अधिवक्ता चाहना शाह तथा सदस्यहरुमा अधिवक्ता रामनाथ साहु तेली, अधिवक्ता जमालुद्दिन अन्सारी, अधिवक्ता दामोदर भट्ट, अधिवक्ता सरस्वती शर्मा, अधिवक्ता मान बहादुर रावत, अधिवक्ता टिकाराम जैसी, अधिवक्ता उत्सव रेग्मी निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको मुख्य काँधमा न्यायका उपभोक्ताहरूलाई सुलभ र सहज न्याय दिलाउन पहल गर्ने जिम्मेवारी छ। कानुन व्यवसायीहरूले नयाँ नेतृत्वबाट उच्च व्यावसायिक आचरण र मर्यादित व्यवहारमार्फत ‘बार र बेन्च’ (अदालत र कानुन व्यवसायी) बीचको सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा राखेका छन्।
निर्वाचन समितिले नवनिर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आधिकारिक प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ। महिला नेतृत्वको आगमनले बाँकेको कानुनी क्षेत्रमा नयाँ उर्जा थपिने विश्वास गरिएको छ।
