अब फेरि १४ घण्टाको सडक यात्रा बाध्यता !
झण्डै पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको पोखरा–नेपालगन्ज–पोखरा सिधा उडान रोक्ने निर्णय गरेको छ । नेपालगन्ज–पोखरा सिधा हवाई उडान सेवा अवरुद्ध भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश बनेका छन् ।
उडान रोकिएपछि अब यात्रुले फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यो पनि बाटोमा कुनै अवरोध नभएको अवस्थामा मात्रै ।
पर्यटन प्रवद्र्धन र यात्रुलाई सहजता दिने उद्देश्यले २०७८ साउन १७ गतेदेखि सुरु गरिएको उक्त उडान हाल कम्तीमा एक महिनाका लागि स्थगित भएको बताइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगन्जको पहलमा सञ्चालनमा आएको यो सेवा पश्चिम नेपालका लागि निकै उपयोगी मानिएको थियो ।
नाट्टा नेपालगन्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित तालिकाअनुसारको उडान रोकेको आधिकारिक जानकारी प्राप्त भएको बताए । ‘अब उडान कहिले पुनः सञ्चालन हुन्छ भन्ने अनिश्चित बनेको छ,’ उनले भने ।
३५ मिनेटमै पोखरा पुग्न सकिने सुविधा बन्द भएसँगै यात्रुहरू फेरि लामो र थकाइपूर्ण सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् । यसअघि हप्तामा तीन दिन—आइतबार, बुधबार र शुक्रबार—उडान सञ्चालन हुँदै आएको थियो । बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९००डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो ।
उडान सञ्चालनमा आउँदा पर्यटन क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको थियो । पोखराबाट नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो भने भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पोखराका लागि आकर्षित गर्ने विश्वास गरिएको थियो ।
नेपालगन्ज र पोखराबीचको यो हवाई सेवा विशेषगरी बाँके, बर्दिया तथा साविक धवलागिरि क्षेत्रबाट बसाइँ सरेर पश्चिम नेपालमा बसोबास गर्ने नागरिकका लागि अत्यन्तै उपयोगी बनेको थियो । साथै धार्मिक पर्यटनका हिसाबले पोखराको विन्ध्यवासिनी, तालबाराही र नेपालगन्जको बागेश्वरी मन्दिर जोड्ने माध्यमका रूपमा पनि हेरिएको थियो ।
उडान सुरु हुँदा न्यूनतम भाडा ४ हजार ९३५ रुपैयाँदेखि अधिकतम ७ हजार ६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो ।
यात्रुको चाप बढ्दै गए दैनिक उडानसम्म विस्तार गर्ने योजना समेत बनाइएको थियो । ‘इन्धनको मुल्यवृद्धिले परेको भाडादर हेरफेरपछि यात्रुको चाप घटेकाले उडान रोक्नु परेको जानकारी प्राप्त भएको छ,’ एक महिनाका लागि रोक्ने अस्थायी निर्णय बारे जानकारी दिंदै बुद्ध एअरका नेपालगन्ज स्टेशन प्रमुख विनित विक्रम शाहले दैनिक नेपालगन्जसँग भने, ‘योनै अन्तिम निर्णय होइन ।’
बुद्धको नियमित तालिका उडान अघि नाट्टा गण्डकी प्रदेशसँगको समन्वयमा नेपालगन्ज च्याप्टरले सीता एयरसँग समन्वय गरेर चार्टर्ड उडान सञ्चालन गरेको थिए । ‘हाम्रो प्रयासले सार्थकता पाइसकेको अवस्थामा यो राम्रो खबर सुनिएन,’ पहलकर्ता नाट्टा नेपालगन्जका संस्थापक अध्यक्ष सिग्देलले भने ।
हाल बुद्ध एयरले पोखराबाट काठमाडौं, भैरहवा र भरतपुरमा नियमित उडान गरिरहे पनि नेपालगञ्ज–पोखरा सेवा रोकिँदा पश्चिम नेपालको पर्यटन र व्यापारिक गतिविधिमा असर पर्ने चिन्ता बढेको छ ।
