रोकियो वैकुण्ठधाम निर्माण, अब हिउँदपछि

राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन वैकुण्ठधामको काम तत्काल अघि नबढ्ने भएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको राप्ती पुलको बाँकी संरचना र नदी डाइभर्सनको काम नसकिएकाले घाट निर्माण स्थगित गर्नुपर्ने अवस्था आएको सरोकारवालाले बताएका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जमा राखेको पछिल्लो बैठकले हालको अवस्थामा वैकुण्ठधामको मुख्य संरचना निर्माण सम्भव नभएको निष्कर्ष निकालेको हो । बैठकमा आयोजनासँग सम्बन्धित विभिन्न निकाय सहभागी भएका थिए । छलफलमा पुल परियोजनाको प्रगति, नदीको बहाव, निर्माणको प्राविधिक अवस्था र आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो ।

बैठकपछि सार्वजनिक गरिएको जानकारीअनुसार, सिधनियाघाट वैकुण्ठधाम निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बाँकेले आर्थिक वर्ष २०८१÷८२ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसैअन्तर्गत न्यू नेशनल बिल्डर्स, भीमेश्वर–१०, दोलखासँग २०८२ असार ३० गते १ करोड ६५ लाख ९० हजार ५ सय ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त रकममा मूल्य अभिवृद्धि करसमेत समावेश रहेको जनाइएको छ ।

आर्थिक वर्षको अन्तिममा मात्रै सम्झौता भएकाले काम समयमै सम्पन्न हुन नसकेको र आयोजना आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न गर्ने गरी म्याद थपिएको बैठकमा जानकारी गराइएको थियो । त्यसपछि चालु आर्थिक वर्ष २०८२/८३ मा पनि उक्त आयोजनाका लागि थप ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, अघिल्लो आर्थिक वर्षको ठेक्का सम्झौताअन्तर्गतको काम नै सम्पन्न नभएकाले नयाँ ठेक्का प्रक्रिया अघि बढ्न सकेन ।

बैठकमा सहभागी पक्षले सुरुदेखि नै वैकुण्ठधाम निर्माणको अवधारणा राप्ती नदीमाथि निर्माणाधीन ७०० मिटर लामो पुलसँग जोडेर अघि बढाइएको बताएका छन् । ‘पुल निर्माणका क्रममा हुने नदी नियन्त्रण र डाइभर्सनको सहक्रियात्मक लाभ उठाएर घाट निर्माण गर्ने रणनीति बनाइएको थियो,’ बैठकमा सहभागी भन्छन्, ‘सानो स्केलको योजनाले छुट्टै नदी नियन्त्रणमा ठूलो खर्च गर्नु व्यवहारिक नहुने निष्कर्षका आधारमा पुलकै ‘स्कोप’ भित्र रहेर घाट निर्माणको योजना तयार गरिएको थियो ।’

तर देशभरका विकास निर्माणका कामजस्तै यो आयोजना पनि विविध कारणले प्रभावित भएको बैठकको निष्कर्ष छ । अहिले राप्ती पुलको पश्चिमतर्फका २ वटा स्पान ढलान गर्न मात्रै बाँकी रहेको छ । वर्षात नजिकिएको र अहिले नदीको सबैभन्दा गहिरो बहाव भइरहेका स्थानमै पियर–१० को क्याप निर्माण भइरहेकाले थप जोखिम बढेको जनाइएको छ ।

‘यो आर्थिक वर्षभित्र बाँकी रहेका २ वटा स्पान ढलान गर्न सम्भव देखिएन,’ बैठकपछि सम्प्रेषित जानकारीमा भनिएको छ, ‘त्यसैले नदी डाइभर्सनको काम सुरु गर्न सकिएन ।’ प्रस्तावित घाटको जगमा माइक्रोपाइलिङ र पुल कंक्रिट ढलान गर्नुपर्ने संरचनागत डिजाइन रहेकाले नदीलाई डाइभर्सन गरेर सुख्खा नबनाई काम गर्न नसकिने निष्कर्ष सरोकारवालाले निकालेका छन् ।

बैठकले आगामी आर्थिक वर्ष २०८३÷८४ को माघभित्र बाँकी २ वटा स्पान ढलान गर्ने लक्ष्यअनुसार काम अगाडि बढाउने निर्णय गरेको छ । त्यसपछि वर्षात सकिएलगत्तै हिउँदमा नदी डाइभर्सन गरिने र सोही समयमा वैकुण्ठधामको जग निर्माणको काम अघि बढाइने जनाइएको छ ।

पाइलिङसम्बन्धी कामका लागि निर्माण कम्पनीले उपकरण जडान गरेर काम सुरु गरिसकेको भए पनि अहिलेका लागि त्यो प्रक्रिया रोक्नुपर्ने अवस्था आएको बैठकमा जनाइएको छ । ‘पुल परियोजनाले आगामी हिउँदमा डाइभर्सन गरेलगत्तै अहिले ठेक्का पाएको निर्माण कम्पनीबाटै वैकुण्ठधामको बाँकी काम अघि बढाइनेछ,’ सरोकारवालाको निष्कर्षमा उल्लेख छ ।

वैकुण्ठधाम निर्माणसँग जोडिएका पक्षहरूले यो परियोजनालाई बाँकेवासीको साझा अभियानका रूपमा व्याख्या गरेका छन् । राप्ती नदीको सिधनियाघाटमा अन्तिम संस्कारलाई सम्मानजनक, व्यवस्थित र दीर्घकालीन बनाउने उद्देश्यसहित आयोजना अघि बढाइएको उनीहरूको भनाइ छ ।

वैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष डा सुरेश कुमार कनोडियाले परियोजनामा आएको ढिलाइलाई ‘काबुबाहिरको परिस्थिति’ का कारण सिर्जित अवस्था भनेका छन् । ‘वैकुण्ठधाम समस्त बाँकेवासीको सामूहिक प्रकल्प हो,’ उनले बैठक भनेका छन्, ‘परियोजना कार्यान्वयनमा आएको विलम्बलाई धैर्यतापूर्वक ग्रहण गरिदिन सम्पूर्ण नेपालगन्जवासी, चन्दादाता, शुभेच्छुक र आम जनमानससँग अनुरोध गर्छु ।’

बैठकमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख राजु न्यौपाने, हुलाकी सडक आयोजना प्रमुख लीला भण्डारी लगायतका सरकारी अधिकारी, निर्माण कम्पनीका प्राविधिक, वैकुण्ठधाम सिधनियाघाटका पदाधिकारी सहभागी थिए ।

Exit mobile version