रोजगारीका लागि उद्योगमैत्री वातावरण

नेपालमा रोजगारीका लागि उद्योग, कलकारखाना चल्ने वातावरण बनाइनुपर्ने माग गरिएको छ ।

बाँकेका सात पालिकाहरुसंगको सहकार्यमा नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको दुई दिने रोजगार मेला शुक्रबार नेपालगन्जमा भएको उद्घाटन कार्यक्रममा वक्ताहरुले बेरोजगार बढिरहेका बेला थोरै भएपनि रोजगारीमा मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

आफ्ना उद्योगमा भारतबाट दक्ष जनशक्ति ल्याउनु पर्ने र नेपालबाट रोजगार नपाएर विदेशिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्दै वक्ताहरुले त्यसका लागि पहिले उद्योगमैत्री वातावरण बनाउन जोड दिए । ‘यहीँ उद्योग चल्ने वातावरण तयार भए रोजगारी सिर्जना हुन्छ, देश समेत समृद्ध बन्छ’, वक्ताहरुले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले देशमा बेरोजगारीका समस्याका कारण धेरैजना विदेशिनु परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘आफ्नो भविष्य सुनिश्चित गर्न विदेशिनु बाध्यता भएको छ’, उनले भने ।

‘आफ्नो जीवनको महत्वपूर्ण समय विदेशमा बिताउनु कसैले पनि चाहना होइन, आफ्नो भविष्य सुनिश्चित गर्न, पारिवारिक जिम्मेवारी पूरा गर्न विदेश जानु पर्ने अवस्था छ’, प्रमुख अतिथि, नगर प्रमुख विष्टले भने, ‘यस्तो अवस्थामा थोरै भएपनि बेरोजगारको समस्या सम्बोधन गर्न रोजगार मेलाको आयोजना गरिएको छ ।’ ‘अहिले दक्ष जनशक्ति भारतबाट ल्याउन बाध्यता छ, किन हामीले आफ्नै देशमा पसिना नबगाउने ?’, नगर प्रमुख विष्टले भने ।

नगर प्रमुख विष्टले उपमहानगरपालिकाले रोजगार सेवा केन्द्र स्थापना गरेको, बेरोजगार सूचिकृत गर्ने काम पनि गरिरहेको जानकारी दिए । ‘जनशक्ति दक्ष बनाउनका लागि हामीले तालिम पनि प्रदान गरेका छौं, तर त्यसलाई अपग्रेड गरेर एडभान्स तालिम आयोजना गर्न सकेका छैनौं’, नगर प्रमुख विष्टले भने, ‘त्यसैले अब थोरैलाई डुप्लिकेशन नहुने गरी कम्तिमा रोजगार तथा स्वरोजगार हुने गरी तालिम दिने नीति लिएका छौं ।’

नगर प्रमुख विष्टले विदेश नै जानु परे पनि सीप र भाषा सिकेर जान सुझाव दिएका थिए । उनले सीप सिकेर विदेशिदा आम्दानी पनि राम्रो हुने धारणा राखेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रोजगारको खोजीमा रहेका रोजगारदाता एकै ठाउँमा भएकाले अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । ‘रोजगार मेलाको उपलब्धी तथ्यांकमा प्रस्तुत गर्न सके आगामी दिनमा पनि पनि प्रति विश्वास जाग्नेछ’, आयोजकलाई सुझाव दिंदै प्रजिअ जोशीले भने ।

प्रजिअ जोशीले उद्योग धन्दा राम्रो सँग चल्ने वातावरण बनाए रोजगारी सिर्जना हुने बताएका थिए । उनले बर्षौ रोकिएको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको काम हालै सुरु भएको जानकारी दिंदै भने, ‘त्यहाँ औद्योगिक क्षेत्र बनेपछि त्यहाँ हजारौंले रोजगारी पाउँछन् ।’

पछिल्लो समय काम अगाडि बढाउँदा एउटा गोठ मात्रै भत्काइएको जानकारी दिंदै उठीबास भयो भन्ने भ्रम फैलाउन खोजिएको प्रजिअ जोशीले बताएका थिए । ‘जसको गोठ भत्किएको छ, उहाँको अर्को ठाउँमा दुई तले घर छ,’ उनले सयौंको संख्यामा उपस्थित सहभागीहरुबीच भने । गरिखाने वर्गलाई बसिखाने वर्गले भ्रम छर्ने गरेको उल्लेख गर्दै प्रजिअ जोशीले सामाजिक सञ्जालमा गाली गरेर बस्नु भन्दा हुने काममा लागे त्यसले राम्रो हुने समेत बताएका थिए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले मजदुर देख्दा उद्योगपति भाग्ने, उद्योगपति आउँदा मजदुर भाग्ने अवस्थामा हामीलाई चाहिएको दक्ष हामीलाई दिनुस् भनेर संघले रोजगार मेला आयोजना गरेको भन्दै प्रशंसा गरे । ‘दक्ष जनशक्ति उत्पादन वृद्धिले वैदेशिक रोजगारीका लागि जानु पर्ने बाध्यता हट्छ’, अध्यक्ष विकले भने ।

अध्यक्ष विकले पालिका सिपमूलक तालिम आयोजना गरिरहेपनि कस्तो जनशक्ति चाहिएको हो भन्ने थाहा नहुने गरेको बताएका थिए । ‘अब हामीलाई भन्नुस् कस्तो जनशक्ति चाहिन्छ, हामी तालिम दिएर दक्ष जनशक्ति तयार गर्छौ, तपाईहरु रोजगारी दिनुस्’, अध्यक्ष विकले उद्योगी, व्यवसायीलाई भने ।

महिला खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्ने बताएकी थिइन् । उनले नेपालमा उपलब्ध हुने रोजगारी अनुसारको सीप प्रदान गर्न आवश्यक रहेको धारणा राखेकी थिइन् ।

रोजगार मेला उद्घाटन कार्यक्रममा वरिष्ठ उद्योगपति प्रदिप छाजेडले आवश्यकता अनुसारको सीप सिकाएर दक्ष जनशक्ति तयार गर्न सकेमात्रै रोजगारीको अवसर प्राप्त हुने बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले भएका श्रमशक्तिलाई सीपयुक्त बनाउने चुनौति रहेको बताए । रोजगार मेलाले बेरोजगार पहिचान गरेर आवश्यकताका आधारमा दक्षलाई रोजगारी दिनसक्नुपर्ने, भोलिका दिनमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सक्ने विश्वास अध्यक्ष गिरीले व्यक्त गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले किन मान्छे अशिक्षित हुन्छ, किन बेरोजगार हुन्छ भन्ने कुराको खोजी जरुरी रहेको बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष चिरञ्जीवी ओलीले गरेका थिए ।

Exit mobile version