रोजगार दिंदै स्थानीय तह

बाँकेका स्थानीय तहले रोजगारीका लागि विभिन्न पहल र प्रयास गरिरहेको जनाएको छ । सबैजसो पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवधिक रोजगारी उपलब्ध गराउनेदेखि दीर्घकालीन रोजगार नीतिसम्मका पहल र प्रयासहरू गरिरहेका हुन् ।

‘बेरोजगार सूचि दर्ता गरेर उनीहरूलाई कुनै न कुनै रूपमा रोजगारी दिने प्रयास गरिरहेका छौं’, नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक मञ्जु ज्ञवालीले पछिल्लो आर्थिक बर्षमा रोजगारीका लागि २ सय ५३ महिला सहित ४ सय ६४ जनाले सूचि दर्ता गराएको जानकारी दिंदै भनिन्, ‘उनीहरूको क्षमता र दक्षताका आधारमा रोजगारीसँग जोड्ने काम गरिरहेका छौं ।’ त्यसका लागि आवश्यक तालिम समेत दिइने गरेको रोजगार संयोजक ज्ञवालीले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्र, सामाजिक विकास शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, सहकारी, पशु सेवा शाखा, कृषि विकास शाखा लगायतले रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रोजगार संयोजक ज्ञवालीले जानकारी दिइन् ।

कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष बर्माले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरूलाई श्रमसँग जोड्ने कार्यक्रमले सकारात्मक परिणाम ल्याएको बताउँछन् । कोहलपुरमा मात्रै चालु आर्थिक बर्ष १ सय २० जनालाई विभिन्न १७ वटा योजनामा परिचालन गरिएको जानकारी दिंदै रोजगार संयोजक बर्माले ९ वटा वडामा काम भैरहेको बताए ।

‘वडा कार्यालयबाटै बेरोजगारहरूको सूचि माग गरेर उनीहरूलाई रोजगारीसँग जोड्ने गरेका छन्’, रोजगार संयोजक बर्माले सेवा अवधीका आधारमा उनीहरूले ३० देखि ६४ हजारसम्म ज्याला पाउने गरेको जानकारी दिंदै भने ।

चालु आर्थिक बर्षका लागि ३ सय ७५ बेरोजगार सूचिकृत भएको नगरपालिकाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाका रोजगार संयोजक माधव डाँगीका अनुसार, चालु आर्थिक बर्ष २०८१÷०८२ मा ३ सय ७ जना बेरोजगार सूचिकृत भएका छन् । उनीहरूलाई विभिन्न ७ वटा आयोजनासँग सम्झौता गरी काममा लगाइने भएको छ । ‘अघिल्लो आर्थिक बर्षमा ७ हजार मिटर बाटो र ९ हजार मिटर सिंचाई कुलो मर्मतको काम गरिएको थियो’, डाँगीले दैनिक नेपालगन्जसँग भने ।

त्यस्तै, नरैनापुर र जानकीले पनि सूचिकृत बेरोजगारहरूलाई रोजगार उपलब्ध गराइरहेको जनाएको छ । जानकी गाउँपालिकाका रोजगार संयोजक सीमा चौधरीले आ.व. २०८१÷०८२ मा जानकी गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार संख्या १ सय ५० जनामा ५५ महिला ९५ जना पुरुष रहेको जानकारी दिइन् ।

नरैनापुरका रोजगार संयोजक मकबुल अहमद मुकेरीले चालु आ.व.मा २०७९÷८० मा ९ सय ७ जना बेरोजगार व्यक्ति सुचिकृत भएकोमा ९८ जनालाई मात्रै रोजगारी दिन सकिएको बताए । आ.व.२०८०÷०८१ २९१ जना बेरोजगार व्यक्ति सुचिकृत भए । त्यस मध्ये ४८ जनाले रोजगारी पाए ।
नरैनापुरका रोजगार संयोजक मुकेरीका अनुसार, आ.व.२०८१÷०८२ मा १ सय ७३ जना सूचिकृत भएकोमा ५५ जनालाई रोजगारी दिने लक्ष्य छ ।

Exit mobile version