लुम्बिनी कप : आज भिड्दै सेना–प्रहरी

सजल गैरे

नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोलीहरुको वर्चश्व भएको छ । सेना र नेपाल प्रहरीको टोलीसँगै सोमवार सशस्त्र प्रहरी बलको एपीएफ क्लब पनि सेमीफाइनल यात्रा सुनिश्चित गरेका हुन् ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको मिडिया संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार, पहिलो सेमिफाइनलमा आज मंगलवार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपीएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

सोमवार प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहजै जीत हासिल गरेको छ ।

कर्णाली प्रदेश प्रदेश फुटबल संघ विरुद्ध ६–० गोल अन्तरले सहजै जीत निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवाती अवस्थामा दुबै टोलीको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । खेलको १८ औ मिनेटसम्म पुग्दा सुरुमा कसले गोल गर्छ भन्ने उत्सुकता निकै तिब्र थियो । पहिलो हापको १८ औ मिनेटमा कर्णाली प्रदेश फुटबल संघले आत्मघाती गोल गर्न पुग्यो ।

कर्णालीका टिना रावतले आत्मघाती गोल गरेपछि एपीएफले एक गोलले अग्रता लिन सफल भयो । आत्मघाती गोल संगै कर्णाली टिम आत्तिएको अवस्थामा प्रस्तुति दिइरहेको थियो । त्यसपछि निरन्तर दबाबमा रह्यो कर्णाली ।

खेलको पहिलो हापको ३५ औ मिनेटमा एपिएफका रेनुका अधिकारीले टिमका तर्फबाट पहिलो गोल गरिन । यो संगै एपीएफले दोस्रो गोलको अग्रता लियो । खेलको ३६ औ मिनेटमा एपीएफका लागि अनिता केसीले गोल थपिन् ।

मध्यान्तरअघिसम्मको तीन गोलको अग्रतालाई खेलको ४५ औ मिनेटमा गिता रानाले गरेको थप गोलले एपीएफलाई उत्साहित बनाउँदै गयो । लगत्तै दोस्रो हापको ४६ औ मिनेटमा रश्मी कुमारी घिसिङले थप एक गोल गरेर एपीएफलाई ५ गोलले अग्रता दिलाउन सफल भइन । कम्तिमा एक गोलको आशा सहित मैदानमा कडा मेहनत गरिरहेको कर्णालीले पुनः खेलको ५० औ मिनेटमा आत्मघाती गोल गर्न पुग्यो । दोस्रो आत्मघाती गोल पनि कर्णालीकी टिना रावतबाट हुन पुग्यो । यो गोल कर्णालीका लागि निकै सकसपूर्ण रहन गयोे । योसंगै एपीएफ ६ गोलले जीतमा सुरक्षित रह्यो ।

कर्णालीका गोल रक्षकका कारण एपीएफले थुप्रै गोल गर्ने अवसर गुमाउन पुग्यो । एपिएफले अझै थुप्रै गोल गर्न सक्ने सम्भावना थियो तर कर्णालीका गोल रक्षक लिला जोशीको प्रस्तुतिले थुप्रै गोल खानबाट कर्णालीलाई जोगायो । लिलाको यो प्रस्तुतिलाई दर्शकहरुले साथ दिएका थिए ।

एपीएफले कर्णालीसँग भिड्न राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोल रक्षक अञ्जना रानामगरले भने एपीएफका लागि पहिलो डेब्यू गरिन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपीएफ पुगेकी हुन् । मध्यान्तरपछि अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । खेलको प्लेयर अफ द म्याच रेनुना नगरकोटी भइन् ।

राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका पूर्व सदस्य सचिव भिम वलीले खेलाडीलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिता सुरु भएको थियो । त्यसअघि फिफा एन्थम र राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । मुख्य रेफ्री जमुना आले मगर थिइन । यसैगरी सहायक रेफ्रीहरुमा कृति सेन ,अनुप सिङ थारु र कृष्ण खत्री रहेका थिए ।

खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका कोच भगवती थापाले खेल मैदानको लेबल नमिलेका कारण धेरै पटक गोलको अवसर गुमाउनु परेको बताउदै आगामी खेल रोचक हुनेमा विश्वस्त रहेको बताइन् । यस्तै क्याप्टेन अनिता बस्नेतले सोचे अनुसारको नतिजा आएपनि आफूहरुमा देखिएको कमीकमजोरी औल्याएकी थिइन् ।

यस्तै कर्णाली प्रदेश प्रदेश फुटबल संघका कोच असिम खड्काले खेल मैदानको अभावका कारण अभ्यास गर्न नपाउँदा राम्रो नजिता नआएको बताए । उनले अब यो टिमलाई अभ्यस्त बनाएर अगाडी बढाउने विश्वास दिलाए । यस्तै क्याप्टेन संगीता अधिकारीले नेपालगन्जमा आएर यसरी खेल्न पाउनु नै आफूहरुका लागि ठुलो अवसर भएको बताएकी छन् ।

Exit mobile version