लुम्बिनी कप महिला फुटबलः फाइनलमा प्रहरी

सजल गैरे

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाएको छ ।

नेपालगन्ज रङ्गशालामा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस फाइनलमा प्रवेश गरेको हो ।

त्रिभुवन आर्मीका कोच चक्र तामाङले रेफ्रिको कमजोरी र व्यवस्थापकीय पक्षको त्रुटिका कारण सोचे अनुसारको प्रस्तुति दिन नसकेको बताए । यो नतिजाले आगमाी दिनमा सिकाई भएको र केही राम्रा खेलाडीको अभाव भएको समेत उल्लेख गरे । त्यस्तै आर्मीका क्याप्टेन सुनिता चौधरीले खेलाडीहरुले राम्रो प्रस्तुति दिएको भएपनि सोंचेअनुरुप खेल हुन नसकेको बताइन ।

निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट पहिलो हाफको २९ औ मिनेटमा मिना देउवाले एक गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन् । पहिलो हाप सकिंदासम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हाफको ८० औ मिनेटमा आर्मीकी तुलसा बोहराले एक गोल गरिन् । आर्मीकी बोहराले गोल गरेपछि खेलको निर्धारित समय सकिंदासम्म दुबै टिमबाट थप अर्को गोल हुन सकेन ।

१÷१ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके ।

त्यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् ।

खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् । गोलकिपर उषाले आफूलाई ग्राउण्डमा खेल्ने अवसर दिएमा राम्रो नतिजा दिन सक्ने बताएकी छन् ।

प्रतियोगिताको मुख्य रेफ्री कृष्ण खत्री रहेका थिए भने सहायक रेफ्रीहरुमा जमुना आले, अमर घले र अनुपसिङ थारु रहेका थिए । मंगलवारको खेलमा पहेंलो कार्ड पुन्जली कुशवारले पाएकी थिइन् । खेल आयोजक संस्था अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह र नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमले संयु्क्त रुपमा खेलाडीलाई बल हस्तान्तर गरेपछि सुरु भएको थियो ।

यस्तै नेपाल पुलिस क्लवका कोच सुमन सुवेदीले दुबै टिम बिभागिय भएकाले प्रतिस्पर्धा कडा भएपनि खेलमा नजिता आउनेमा विश्वस्त रहेको बताए । उनले फाइनल खेलमा पनि जितको राम्रो संभावना आकलन गरेका छन । पुलिसका क्याप्टेन निरु थापाले घरेलु मैदानबाट फाइनल खेल जितेर जाने गरी तयारीमा रहेको बताएकी छिन ।

पुलिसले अब उपाधिका लागि आज बुधबार हुने दोस्रो सेमिफाइनल खेल अन्र्तगत रौतहट फुटबल संघको टोली र अर्को विभागीय टोली एपीएफबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने आयोजक अन्तरालले जनाएको छ ।

Exit mobile version