सय करोडबढी लगानीमा पाँच तारे होटल खोल्दै पौवा

होटल पौवा प्रा.लि.ले नेपालगन्जमा सय करोडबढी लगागीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छ । स्थापनाको ८ वर्षमा पहिलो पाँच तारे होटल निर्माण योजना कार्यान्वयनमा ल्याएको हो ।

विश्वबजारमा छुट्टै नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ८ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखाका रूपमा पहिलो पाँच तारे होटल पौवा निर्माणको थालनी गरेको हो ।

दुई वर्षमा निर्माण सक्ने गरि अत्याधुनिक सुविधासहितको ५ तारे होटल निर्माणका लागि विहीवार पूजापाठसहित शिलान्यास गरिएको छ । होटल पौवा प्रा.लि.का प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गरेका हुन् ।

नौ तले भवनको एउटै छानामुनि क्यासिना, स्पा, स्विमिङ, जिम सुविधा रहने होटल दुई चरणमा निर्माण गरिंदैछ ।

होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा प्रसाद भण्डारीले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको जानकारी दिंदै छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध रहेको बताए ।

अध्यक्ष भण्डारीले विहीवार जारी प्रेस विज्ञप्तिमा लुम्बिनी प्रदेशको रूपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको जानकारी छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको अध्यक्ष भण्डारीले बताए ।
चालु आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको पौवाले कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको जनाएको. छ । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको प्रवन्ध निर्देशक ज्ञवालीले बताए ।

होटल सञ्चालक ध्रुव न्यौपानेले ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल आदर्शलाई आत्मसाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाकोे छुट्टै पहिचान बनाइएको बताए । ‘नेपालगन्जमा सञ्चालन हुने १३ औं शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन्,’ न्यौपानेले भने ।

नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाको रूपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै ५ तारे सुविधा सहितको होटल सञ्चालनको सुरुवात गरेको होटल पौवाका अध्यक्ष भण्डारीको भनाइ छ । उनले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग भएको दाबी गरे । होटलमा प्रवे्श गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरी होटलले सेवा दिने अध्यक्ष भण्डारीले बताए ।

Exit mobile version