स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो । बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ । सूचना अधिकारी मल्लले भन्नुभयो,“पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरङ्ग सेवा (ओपिडी) सेवा लिन पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ ।” हाल स्वास्थ्य बिमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपिडी सेवामा नै खर्च भइरहेको छ । यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीको आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन् । बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य
by
Dainik Nepalgunj
May 19, 2026
‘लालिबजार’
by
Dainik Nepalgunj
May 19, 2026
नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ
by
Dainik Nepalgunj
May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
by
Dainik Nepalgunj
May 19, 2026
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
by
Dainik Nepalgunj
May 19, 2026