२३ वर्षदेखिको विश्वास : अब विज्ञान संकायसहित अझ बलियो बन्दै ब्राइटल्याण्ड कलेज

नेपालगन्जमा विगत २३ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ब्राइटल्याण्ड कलेज अहिले कक्षा ११ अध्ययनका लागि विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ। लामो शैक्षिक अनुभव, अनुशासित वातावरण, आधुनिक शिक्षण प्रणाली तथा उत्कृष्ट नतिजाका कारण यस वर्ष विद्यालयमा विद्यार्थी आकर्षण उल्लेख्य रूपमा बढेको विद्यालय प्रशासनले जनाएको छ।


विशेषगरी व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा र प्रभावशाली शैक्षिक वातावरणका कारण पहिलेदेखि नै परिचित रहेको ब्राइटल्याण्डले यस वर्षदेखि विज्ञान संकाय पनि सञ्चालनमा ल्याएको छ। विज्ञान संकाय थपिएसँगै विद्यार्थीहरूको उत्साह झन् बढेको विद्यालयको भनाइ छ। विद्यालयले शुक्रबार ‘प्लस टु’ अन्तर्गत नयाँ शैक्षिक सत्रका लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अपेक्षाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए।


विद्यालयका अनुसार विज्ञान र व्यवस्थापन संकायका लागि सञ्चालन गरिएको प्रवेश परीक्षामा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट विद्यार्थी सहभागी भएका थिए। उच्च जिपिए ल्याएका विद्यार्थीसमेत काठमाडौं नगई नेपालगन्जमै गुणस्तरीय शिक्षा खोज्दै ब्राइटल्याण्ड रोज्न थालेको विद्यालयले जनाएको छ।


विद्यालयका प्राचार्य अर्पण केशर खनालले व्यवस्थापन संकायमा विद्यालयले पहिलेदेखि नै राम्रो विश्वास जित्दै आएको र अहिले विज्ञान संकाय सञ्चालनपछि विद्यार्थीको आकर्षण अझ बढेको बताए।


उनले भने, “पहिले व्यवस्थापन मात्रै हुँदा विज्ञान पढ्न चाहने विद्यार्थीलाई अन्य कलेज सिफारिस गर्नुपर्ने अवस्था थियो। तर यस वर्षदेखि हामीले विज्ञान संकाय पनि सञ्चालन गरेका छौँ। अहिले व्यवस्थापनभन्दा विज्ञान अध्ययन गर्न आउने विद्यार्थीको संख्या अझ बढी देखिएको छ। काठमाडौं जानुभन्दा नेपालगन्जमै राम्रो शिक्षा लिन सकिन्छ भन्ने विश्वास विद्यार्थी र अभिभावकमा बढ्दै गएको छ।”
उनका अनुसार विद्यालयले केवल पुस्तकमा सीमित शिक्षा नभई सीप, अनुशासन, नेतृत्व क्षमता र व्यवहारिक ज्ञानलाई पनि सँगसँगै अघि बढाउँदै आएको छ। प्रतिस्पर्धात्मक शैक्षिक वातावरणलाई मध्यनजर गर्दै विद्यालयले प्रवेश परीक्षा प्रणाली लागू गरेको उनले बताए।


ब्राइटल्याण्डमा व्यवस्थापन संकायअन्तर्गत आइटी, फाइनान्स, व्यावसायिक गणित, व्यवसाय अध्ययन तथा होटल म्यानेजमेन्ट विषयमा विद्यार्थीहरूको आकर्षण उल्लेख्य देखिएको छ। विशेषगरी आइटी र होटल म्यानेजमेन्टतर्फ व्यवहारिक शिक्षामा जोड दिइने भएकाले विद्यार्थी तथा अभिभावकको रुचि बढ्दै गएको विद्यालयको भनाइ छ।
विद्यार्थी प्रतीक्षा अधिकारीले सुरुमा विद्यालय अवलोकन गर्न आएको र यहाँको भौतिक पूर्वाधार, अनुशासन तथा विद्यार्थीमैत्री वातावरण देखेर आफू प्रभावित भएको बताइन्।

त्यस्तै विद्यार्थी अलिश कुमारी थापाले अघिल्लो वर्षको उत्कृष्ट नतिजा र राम्रो शैक्षिक वातावरणका कारण आफूले ब्राइटल्याण्ड रोजेको बताइन्। उनले भविष्यमा ब्याचलर र मास्टर्ससमेत यहीँ अध्ययन गर्ने योजना रहेको सुनाइन्।
मनिषा थापाले आफ्नी बहिनीका लागि ब्राइटल्याण्ड उपयुक्त रहेको बताउँदै विद्यालयले विषय छनोटदेखि भविष्यको करिअरसम्म राम्रो काउन्सेलिङ गर्ने गरेको प्रतिक्रिया दिइन्।
होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थी दीपिकाले किताबमा मात्र सीमित नभई प्रायोगिक शिक्षामा जोड दिइने, आधुनिक किचेनसहित आवश्यक पूर्वाधार उपलब्ध रहेको र भविष्यमा इन्टर्नशिपका अवसरसमेत पाउने भएकाले आफूले ब्राइटल्याण्ड रोजेको बताइन्।
विद्यालय प्रशासनका अनुसार शिक्षाविद्हरूद्वारा सञ्चालन हुँदै आएको ब्राइटल्याण्डमा अनुभवी शिक्षक, व्यवस्थित शैक्षिक वातावरण तथा विद्यार्थीकेन्द्रित शिक्षण प्रणालीका कारण हरेक वर्ष विद्यार्थी आकर्षण बढ्दै गएको छ।


त्यस्तै शिक्षिका सन्तोषी पुन मगर का अनुसार विद्यालयमा पठनपाठनसँगै बाह्य खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइएको छ। लामो समयदेखि ब्राइटल्याण्डसँग आबद्ध रहेकी उनले विद्यार्थीहरूलाई विशेषगरी यहाँको अनुशासित वातावरण, मैत्रीपूर्ण शिक्षण शैली र सकारात्मक शैक्षिक संस्कृतिले आकर्षित गर्ने गरेको बताइन्।
ब्राइटल्याण्डले केवल डिग्री मात्र होइन, बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, आत्मविश्वासी र व्यवहारिक ज्ञान भएका विद्यार्थी उत्पादन गरिरहेको छ । यहाँ अध्ययन गरेका विद्यार्थी आज विभिन्न क्षेत्र र पेशामा सफलतापूर्वक काम गरिरहेका छन् ।

Exit mobile version