बाँकेको डुडुवा गाउँपालिकाकी एक किसानको एक महिनाको अवधीमा नौ वटा भैसी हराएको छ । डुडुवा गाउँपालिका–५ की ब्रह्मादेवी यादव दुई पटक गरी नौ वटा भैसी हराएपछि अहिले गोठ रित्तो मात्रै भएको छैन घर खर्च चलाउन आफन्तसँग सहयोग लिन बाध्य भएकी छिन् ।
‘गत चैत्र १५ गते ५ वटा र बैशाख ११ गते थप ४ वटा भैसी चर्न पठाएपछि गोठ फर्किएनन्’, किसान यादव भन्छिन्, ‘कसले भैसी लगिदियो अहिलेसम्म पत्तो लागेको छैन ।’
ब्रह्मादेवी एकल महिला हुन् । उनले करिब पाँच बर्ष अघि श्रीमान् गुमाएकी थिइन् । श्रीमान् पनि भैसी पालनमै थिए । यसैबाट घर खर्च राम्रैसँग चलेको थियो । श्रीमान्को मृत्यु पछि नाबालक अवस्थामा जेठो छोरा कृष्ण यादवले भैसी पालनको काम सम्हाले । ‘घरको जिम्मेवारी काँधमा आएपछि पढाई छाडेर बुबाले गर्दै आएको भैसीपालनलाई निरन्तरता दिए’, १८ बर्षीय कृष्ण भन्छन्, ‘एकाएक दुई पटक गरी भैसी हराएपछि अहिले काम विहीन भएको छु ।’ परिवारको जिम्मा आफ्नो काँधमा रहेकाले के काम गरेर खर्च टार्ने भन्ने चिन्तामा आफु रहेको कृष्ण बताउँछन् । ‘हराएका भैसी केही दुध दिने र केही गर्भवती रहेका थिए’, उनी भन्छन्, ‘२५ देखि ४० लिटरसम्म दैनिक दुध बिक्री गथ्यौं ।’ कृष्ण भैसीको बीमा पनि रहेको बताउँछन् ।
यादव परिवारको गोठ घर भन्दा केही किलोमिटर पर डुडुवा स्थित जंगल क्षेत्रमा रहेको छ । त्यहाँ अन्यले पनि गोठ बनाएका छन् । सयौं भैसीहरू विहान दुध दुहेपछि चर्नका लागि खजुरागौडी जंगल तर्फ पठाइने गरिन्छ । ‘दुवै पटक चर्न पठाइएका भैसी साँझसम्म नफर्के पछि खोजी सुरु गर्यौ’, कृष्ण भन्छन्, ‘तर फेला परेनन् ।’
पीडित परिवारले भैसी हराएको प्रहरीमा समेत उजुरी गरेको छ । ‘एकदेखि दुई लाख मूल्यका भैसी चोरी हुँदा १५ लाख बढीको क्षति भएको छ’, किसान ब्रह्मादेवी भन्छिन्, ‘कहि कतै फेला परिहाल्छ कि भन्ने आशा मारेका छैनौं ।’
स्थानीयबासी एउटै परिवारको नौ वटा भैसी हराउनुलाई आश्चर्यका रूपमा लिन्छन् । ‘सयौं भैसी चर्न जाँदा एउटा परिवारको मात्रै भैसी कसरी, कसले लग्यो होला, खोजीनीति भए हुन्थ्यो’, उनीहरू भन्छन् । पीडित ब्रहमादेवीले चोरी भएका भैंसी खोजी तथा दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।
