वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १५औं बार्षिकोत्सव आज शुक्रबार विभिन्न सिर्जनात्मक कार्यक्रम गरी मनाउँदैछ । संस्थाका अध्यक्ष सञ्जय थापाका अनुसार, १५औं बार्षिकोत्सवलाई सामाजिक कार्यसँग जोडेर संस्थाले अगाडि बढाएकाले तद्अनुरूप विभिन्न सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको हो । त्यसक्रममा बार्षिकोत्सवको अघिल्लो दिन बिहीबार मानव सेवा आश्रम र निल सागर आश्रममा आश्रितहरूका लागि भोजन ग्रहण गराइएको छ ।
अध्यक्ष थापाका अनुसार, मानवसेवा आश्रमका ५८ जना र निलसागरका २ सय बढीलाई भोजन ग्रहण गराइ मानवीय सेवामा हातेमालो गरिएको हो । ‘यसले सामाजिक उत्तरदायित्वसँगै मानवीय कार्यका लागि प्रोत्साहन गरेको छ’, अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘संस्थालाई सामाजिक उत्तरदायित्व सहित वित्तीय सेवामा जिम्मेवार बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं ।’
अध्यक्ष थापाले बार्षिकोत्सवको दिन आज शुक्रबार बृहत रक्तदान आयोजना गरिएको बताए । सहकारीका प्रबन्धक थानिश्वर पाण्डेयका अनुसार रक्तदान कार्यक्रमको उद्घाटन रेडक्रसका प्रमुख उपेन्द्र रेग्मी र सञ्चालक समितिका सदस्य प्रेमबहादुर खड्काले गरेका थिए ।

२०६७ साल साउन ११ गते ५२ जना शेयर सदस्यको २६ लाख शेयर पूँजी सहित स्थापना गरिएको वेष्टर्नले १५औं बार्षिकोत्सव मनाइरहँदा २ हजार २ सय बढी शेयर सदस्यबाट साढे १० करोड बढी शेयरपूँजीमा संस्थालाई अगाडि बढाएको छ । वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक थानिश्वर पाण्डेयका अनुसार, पछिल्लो आर्थिक बर्ष ६५ करोडको ब्यालेन्स सिटमा रहेको वेष्टर्नले कृषि क्षेत्रलाई प्राथमिकताका साथ लगानीमा जाने योजना तय गरेको छ ।

‘किसान र स–साना उद्यमीलाई लघु ऋण प्रवाह गरी उनीहरूको आयस्तर वृद्धिमा योगदान पुर्याउने अबको योजना हो’, प्रबन्धक पाण्डेयले संस्थाको आर्थिक योजनाबारे दैनिक नेपालगन्जसँग भने, ‘प्रविधिमैत्री कारोबारबाट सदस्यको सहज पहुँच र पारदर्शीताका साथ विश्वास कायम गरेर अगाडि बढ्दैछौं ।’
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.