१. नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ ।
२. प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
३. मोबाइल एपमार्फत यात्रु ओसोरपसार गर्ने कार्य ‘राइड सेयरिङ’लाई वैधानिकता दिने गरी प्रदेश सरकारले कार्यविधि ल्याउन लागेपछि गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
४. सिमलताल पहिरोमा बगेका बस र यात्रुको शव खोज्न आएको भारतीय प्राविधिकको टोली आइतबार फर्किएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालयमा आइतबार भारतीय प्राविधिकहरूको टोलीलाई बिदाइ गरेका हुन् ।
५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिन गर्न बनेको समिति तटस्थ र स्वतन्त्र रहेकोमा ढुक्क हुन आग्रह गरेका छन् । उनले छानबिन समितिको तटस्थतामा सरकार विश्वस्त रहेको र समितिलाई काम गर्न कसैले पनि दबाब र प्रभावमा नराख्ने दाबी गरे ।
६. आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन् ।
७. नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो ।
८. आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको संख्या समान छ ।
