लामो समयदेखि लागूऔषधविरुद्ध अभियन्ताका रूपमा काम गरिरहेका प्रविण बिसी सम्मानित भएका छन् । दमयन्ती फाउन्डेशन नेपाल, बाँकेले अभियन्ता बिसीलाई मंगलबार एक कार्यक्रम बीच सम्मान सँगै पुरस्कृत गरेको हो ।
आठौं नयनराज रावल स्मृति दिवसको अवसरमा जिल्ला प्रशासन बाँकेका प्रमुख खगेन्द्रप्रसाद रिजाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, सशस्त्र प्रहरी बल महेन्द्र नगरका एसपि बिमल डाँगी एवम् दमयन्ती फाउन्डेशन नेपाल, बाँकी अध्यक्ष इन्द्राकुमारी जिसीले अभियान्ता बिसीलाई निरन्तर गरेको सामाजिक कार्यको कदर गर्दै नगद १० हजार सहित सम्मानित गरेका हुन् ।
दमयन्ती फाउन्डेशनकी अध्यक्ष जिसीका अनुसार, लागुऔषध विरुद्धका अभियन्ता नयनराजले आमाको नामबाट असाय, असक्त र गरिब व्यक्तिलाई सयोग गर्ने उद्देश्यले यस फाउन्डेशनको स्थापना गरेका थिए । त्यसैले नयनराजको स्मृति दिवसका अवसरमा हरेक वर्ष सामाजिक कार्यमा उल्लेखनीय काम गर्दै आइरहेका व्यक्तिहरूलाई दमयन्ती फाउन्डेशनले सम्मान र पुरस्कृत गर्देै आएको जिसीले जानकारी दिइन् ।
सम्मानपछि कार्यक्रममा बोल्दै अभियन्ता बिसीले बाँकेमा लागूऔषधविरुद्धको अभियानमा नयनराजको कार्यलाई सम्झँदै आफूलाई पनि नयनराजले लागूऔषधविरुद्धको काम गर्न प्रेरित गरेको बताए । साथै उनले पुरस्कार स्वरूप प्राप्त गरेको १० हजार एक रूपैयाँ खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र माध्यमिक विद्यालयलाई प्रदान गर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले बाँकेमा लागूऔषधको अवस्था चिन्ताजनक रहेको बताउँदै बिसीले लागूऔषधका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताए ।






























